सय वर्ष नाघेका ज्येष्ठ नागरिकद्वारा मतदान

आनन्द पोखरेल
चितवन, २१ मंसिर । दोस्रो चरण अन्तरगत बिहीबार चितवनमा भएको मतदानमा एक सय वर्ष नाघेका दुई जना ज्येष्ठ नागरिकले मतदान गरेका छन् । चितवन क्षेत्र नम्बर २ अन्तर्गत पर्ने भरतपुर २ मा रहेको बालकुमारी माध्यमिक विद्यालयबाट दुई जना ज्येष्ठ नागरिकले मतदान गरेका हुन् । भरतपुर महानगरपालिका वडा नम्बर २ क्षेत्रपुर घर भएकी एक सय १५ वर्षे डल्लीमाया बसेल र एक सय वर्षे लिलाहरि पोखरेलले नारायणगढबाट मतदान गरेका हुन् ।

एक सय १५ वर्षे बसेलले मतदाता परिचय पत्र नम्बर १६७००८५४ बाट बालकुमारी माविको मतदान स्थलको ख केन्द्रबाट मतदान गरिन् । त्यस्तै एक सय वर्षे लिलाहरि पोखरेलले बालकुमारी माविको मतदान स्थलको च केन्द्रबाट मतदान गरेका हुन् । बसेललाई मतदान गराउनको लागि उनका कान्छा छोरा मानबहादुर बसेल र कान्छी बुहारी अनिता बसेलले मतदान केन्द्रसम्म लिएर आएका थिए ।
पोखरेललाई मतदानको लागि उनका छोराहरु अशोक पोखरेल र शान्ताप्रसाद पोखरेलले मतदान स्थलसम्म ल्याएका थिए । आफू जिवित छँदाको अवस्थामा नै समृद्ध नेपाल देख्न पाए आत्माले शान्ति पाउने दुवै ज्येष्ठ मतदाताले प्रतिकृया दिएका थिए । बालकुमारी माध्यमिक विद्यालयको मतदान केन्द्रमा सात हजार ७२ मतदाता रहेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर २ मा बालकुमारी मावि मात्रै मतदान स्थल रहेको छ भने उक्त स्थलमा सात वटा केन्द्र रहेका छन् ।