मतदानपछि चितवनमा कुन नेताले के भने ?

चितवन, २१ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भरतपुर १४ को आधारभूत विद्यालय शान्तिपुरमा मतदान गरेपछि अब मुलुकमा समृद्धि र विकासको यात्रा सुरु भएको बताएका छन् । दाहालले देशमा राजनीतिक स्थायित्व आउने पनि बताए । ‘अब राजनीतिक स्थायित्व सुरु हुँदैछ, अब सरकार पाँच वर्ष टिक्ने स्थिति पैदा हुँदैछ,’ दाहालले भने –‘वाम गठबन्धनको बहुमत आउनेमा म ढुक्क छु ।’ दाहाल चितवन क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यका लागि वाम गठबन्धनका साझा उम्मेदवार हुन् ।
मुलुकमा वाम शक्ति र लोकतान्त्रिक शक्तिमध्ये एउटाले बहुमत ल्याएर स्थायी सरकार ल्याउने भएकाले नेपालीको ७० वर्षदेखिको विकासको चाहना पुरा हुने दाहालले बताए । यसरी दुवै दलले गठबन्धन गर्नुलाई शुभ शंकेतको संज्ञा दिँदै दाहालले आफूले आफ्ना लागि मतदान गरेको पहिलो पटक भएको बताए । यस अगाडिका निर्वाचनमा दाहालले आफूलाई मतदान गर्न पाएका थिएनन् ।

वन तथा भू–संरक्षण मन्त्री एवम् राप्रपा (प्रजातान्त्रिक)का केन्द्रीय उपाध्यक्ष विक्रम बहादुर पाण्डेले भरतपुर महानगरपालिका वडा नं.२७ स्थित जानकी माध्यमिक विद्यालय मतदान स्थलबाट मतदान गरेपछि आफ्नो जित सुनिश्चित भएको दावी गरे । आफू बाल्यकालदेखि नै यस क्षेत्रको लागि निरन्तर रुपमा लागेका कारण जनताले आफूलाई मतदान गरेर विजयी गराउने पाण्डेको भनाइ थियो । माओवादी केन्द्रका अध्यक्ष दाहालसँग प्रतिस्पर्धीको रुपमा खडा भएका पाण्डेले चितवन विकासका लागि बाधक कुराहरु सबै आफूलाई जानकारी भएकाले विजयी भएपछि क्रमैसँग काम गर्ने बताए ।
नेकपा एमालेका स्थायी कमिटि सदस्य सुरेन्द्र प्रसाद पाण्डेले मतदान पछि प्रतिकृया दिँदै आफुले सहज जित हासिल गर्ने बताएका छन् । चितवन क्षेत्र नम्बर १ मा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य समेत रहेका पाण्डेले पहिले एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा आउँदा त धेरै मतान्तरले विजयी भएको स्मरण गराउँदै अहिले वाम गठबन्धन बनेका कारण जित सुनिश्चित भएको बताएका हुन् । क्षेत्र नम्बर १ मा आफूले गरेका विकास निर्माणको काम नै आफ्नो जितको आधार भएको पाण्डेको भनाइ थियो ।
त्यस्तै, पूर्व सांसद एवम् नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता रामबहादुर थापा बादलले मतदाताहरुको उत्साह देखेर वामपन्थीको दुई तिहाई मत आउने सम्भावना बनेको बताए । मतदान गरेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै बादलले जनताको चाहना विकास र सम्बृद्धि भएकाले अब राजनीतिक स्थायीत्वका लागि वामपन्थी उम्मेदवारहरुको विजय आवश्यक रहेको थापाको भनाइ छ । निकट भविष्यमा नै वामपन्थीको सरकार बन्ने भन्दै थापाले वामपन्थी सरकारले जनताको चाहना पुरा गर्ने विश्वास व्यक्त गरे ।
चितवन क्षेत्र नं. २ बाट संयुक्त वाम गठबन्धनका प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्णभक्त पोखरेलले आगामी ५ वर्षमा प्रत्येक नेपालीको १० हजार डलर प्रतिव्यक्ति आय बनाउने संकल्प गरेका छन् । बिहिबार भएको प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचनमा मतदानपछि सञ्चारकर्मीहरु कुराकानी गर्दै पोखरेलले चितवनमा वामगठबन्धनका सबै उम्मेदवार बिजयी हुने दावी गर्दै जनताहरु बाम गठबन्धनलाई बिजयी गराउन आतुर रहेको बताए । घरदैलो गर्दा जनताले दिएको वाचा र स्थानीय तहमा आफ्नो पक्षधरको जितको आधारमा पनि आफुले चितवन क्षेत्र नं. २ को चुनाव जित्ने बताए ।

Promise Education Consultancy