चितवनमा ७० प्रतिशत मत खस्यो

आनन्द पोखरेल
चितवन, २१ मंसिर । चितवनमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । दोस्रो चरण अन्तर्गत बिहीबार सम्पन्न भएको मतदानमा जिल्लाका करिब ७० प्रतिशत मतदाताले भाग लिएका जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ ।
चितवनबाट विभिन्न हेभीवेटका उम्मेदवारहरु निर्वाचनमा मतदाता र उम्मेदवार भएकाले समेत राष्ट्रिय रुपमा चितवनले ध्यान खिचेको छ । साँझ पाँच बजे मतदान सकिएपछि मतगणना स्थल भरतपुर १० मा रहेको चितवन माध्यमिक विद्यालयमा मतपेटिका लैजाने काम भइरहेको छ । चितवनको सुगम ठाउँका मतपेटिकाहरु चाँडै नै मतगणनास्थल आइपुग्ने भएपनि बाँदरझुला, इच्छाकामनाका मतपेटिका आउन ढिला हुने भएकाले शुक्रबार बिहान मात्रै मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले बताए ।
चितवनमा रहेको तीन वटा प्रतिनिधिसभा र छ वटा प्रदेशसभाको मतगणना एकै पटक सुरु गरिने भएको छ । शुक्रबार बिहानबाट मतगणना सुरु भएर चार दिनमा प्रत्यक्ष तर्फको र २८ गतेसम्म समानुपातिक तर्फको पनि मतगणना सक्ने तयारी रहेको शर्माले बताए । यस पटक चितवनको मतगणनामा तारजाली नलगाउने भनिएपनि सुरक्षा खतरा बढेको भन्दै तारजाली लगाइने भएको छ ।
मतगणना स्थल सिसि क्यामेराको निगरानीमा राखिएको समेत मुख्य निर्वाचन अधिकृत शर्माले बताए । चितवनको तीन वटा निर्वाचन क्षेत्रमा जम्मा तीन लाख ५४ हजार ३६ मतदाता रहेका थिए । बिहीबार साँझ सर्वदलीय छलफल पछाडि मतगणना आचारसंहिता निर्माण गरेर मतगणना सुरु गर्ने तयारी भइरहेको छ ।
चितवनको एक सय ६१ मतदान स्थलका चार सय आठ वटै मतदान केन्द्रमा बिहान सात बजेदेखि नै मतदान सुरु भएको थियो । चितवनमा हेभी वेटका उम्मेदवारहरु र उनीहरुको मतदान केन्द्र समेत भएकोले चितवन चर्चाको विषय बनेको छ । चितवन क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहालले भरतपुर १४ मा रहेको आधारभूत विद्यालय शान्तिपुरबाट मतदान गरेका छन् ।

त्यस्तै, लोकतान्त्रिक गठबन्धनका तर्फबाट चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार विक्रम पाण्डेले भरतपुर २७ मा रहेको जानकी माविबाट मतदान गरेका छन् । चितवन क्षेत्र नम्बर २ मा लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले रत्ननगर नगरपालिका वडा नं. ३ को सहिद स्मृति बहुमुखी क्याम्पस मतदान केन्द्रबाट मतदान गरेका छन् । अधिकारीको मतदाता नामावली क्षेत्र नम्बर १ र उम्मेदवारी क्षेत्र नम्बर २ मा भएका कारण उनी आफूले आफैलाई मतदान गर्न पाएनन् ।
यसैगरि, पूर्व उपप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता अमिक शेरचनले भरतपुर महानगरपालिका वडा नं.२६ स्थित आदर्श माध्यमिक विद्यालय दिव्यनगर मतदान स्थलबाट मतदान गरेका छन् । चितवन क्षेत्र नम्बर १ मा वामगठबन्धनका तर्फबाट उम्मेदवार बनेका पूर्व अर्थमन्त्री एवम् नेकपा एमालेका स्थायी कमिटि सदस्य सुरेन्द्र पाण्डेले राप्ती नगरपालिका वडा नं.५ को भण्डारा हेल्थपोष्ट मतदान स्थलबाट मतदान गरेका छन् । त्यस्तै पूर्व शिक्षा मन्त्री धनिराम पौडेलले माडी नगरपालिका वडा नं.५ मा रहेको रमाईलोडाँडा आधारभूत विद्यालयबाट मतदान गरे ।
निवर्तमान सांसद तथा चितवन क्षेत्र नम्बर २ मा वाम गठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्णभक्त पोखरेल र पूर्व सांसद एवम् नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापाले भरतपुर महानगरपालिका वडा नं.१० को नारायणी नमुना माध्यमिक विद्यालयको मतदानस्थलबाट मतदान गरेका छन् । चितवन क्षेत्र नं.१ मालोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार राजेन्द्र बुर्लाकोटीले राप्ती नगरपालिका वडा नं.८ बज्रहठी आदर्श विद्यालयको मतदानस्थलबाट मतदान गरेका छन् ।