नेपाल नयाँ युगमा प्रवेश गर्यो : प्रचण्ड (भिडियो)

चितवन, २० मंसिर । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजको मतदानले राजनीतिक संघर्षको यात्रा सकिएर विकास र समृद्धिको यात्रा प्रारम्भ भएको बताएका छन् ।

 

 

चितवनको निर्वाचन क्षेत्र नम्बर ३ को भरतपुर–१४, शिवनगरस्थित शान्तिपुर आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गरेपछि प्रतिक्रिया दिदैं उनले भने, “आजको मतदानले इतिहासको एउटा अध्यायको अन्त र अर्को अध्यायको सुरुआत गरेको छ भन्ने लाग्छ । यसले राजनीतिक संघर्षको यात्रा सकेर विकास र समृद्धिको यात्रा प्रारम्भ गरेको छ । दाहाल चितवन–३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार हुन् ।

दुई गठबन्धनबीचको मुख्य प्रतिस्पर्धामा जसले जितेपनि बहुमत आउनुपर्ने भन्दै उनले वाम गठबन्धनले नै बहुमत ल्याउने बताए । “वाम गठबन्धन वा कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन दुवै देशका लागि शुभसंकेत हो, जसले जितेपनि गठबन्धनले नै जित्नुपर्छ भन्ने हो”, उनले भने, “योपालि वाम गठबन्धनकै बहुमत आउँछ ।”

शान्ति प्रक्रियाको दुई हस्ताक्षरकर्तामध्ये जीवित एक हस्ताक्षरकर्ताको नाताले आजको मतदान गर्न पाएकोमा गर्व लागेको उनले बताए ।
सबै मतदातालाई आजको मतदानलाई उत्सवका रुपमा मनाउन उनले अपिल गरे ।