चितवनमा निर्वाचनको तयारी पुरा

आनन्द पोखरेल
चितवन, १९ मंसिर । मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी चितवनमा पुरा भएको छ । चितवनका जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा कर्मचारी परिचालन, मतपेटिका, मतपत्र, नङमा लगाउने मसी, स्ट्याम प्याड, स्वस्तिक चिन्हलगायतका ६६ प्रकारका निर्वाचन सामग्री पुगिसकेका छन् ।
मतदान केन्द्रमा खटिएका सबै कर्मचारीहरुले मंगलबार सर्वदलीय बैठक ठाकेर मतदाता परिचयपत्र वितरणका काम सुरु गरिसकेका र अब मतदानको काम बाँकी रहेको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले बताए । सोमबारदेखि मतदान केन्द्रमा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत लगायत कर्मचारीहरुले बुधबारसम्म मतदाता परिचयपत्र वितरण गर्नेछन् । मतदाताको नागरिकता वा परिचय खुल्ने परिचयपत्रको आधारमा मतदाता परिचयपत्र वितरण भइरहेको ढकालको भनाइ छ ।
मतदाता नामावलीमा नाम भएको तर मतदाता परिचयपत्र नपाएका मतदाताहरुले समेत परिचय खुल्ने काजगपत्रको आधारमा मतदान गर्न पाउने ढकालले जानकारी दिए । पुराना मतदाताहरुले पुरानै मतदाता परिचयपत्र देखाएर भोट हाल्नेछन् भने नयाँ मतदाताले मतदाता परिचयपत्र लिनुपर्नेछ । मतदान अधिकृतहरुले मतदान केन्द्रको तीन सय मिटर वरपर मदिरा तथा हातहतियार निषेधित क्षेत्र घोषणा गरेका छन् ।
मतदान केन्द्र भित्रका व्यवस्थापन निर्वाचन आयोग मार्फत खटिएकाका कर्मचारीले गर्ने र केन्द्र बाहिर स्वयमसेवक एवम् राजनीतिक दलहरुले व्यवस्थापन गर्ने बताइएको छ । निर्वाचनलाई शान्तिपुर्ण रुपमा सम्पन्न गर्नका लागि चितवनका चार सय आठ वटै मतदान केन्द्रका कर्मचारीले राजनीतिक दलका प्रतिनिधिहरुलाई सहमति गराएका छन् । सर्वदलीय बैठकमा ज्येष्ठ नागरिक एवम् अपाङ्ग मतदाताहरुले सकेसम्म परिवारका सदस्य अथवा ईच्छाएका व्यक्तिबाट मात्रै मतदान गर्न पाउनुपर्ने व्यवस्था गरिएको छ ।
जिल्लाको एक सय ६१ मतदान स्थलमा चार सय आठ वटा मतदान केन्द्र रहेकोमा प्रत्येक मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत र चार जना सहायक कर्मचारी तथा दुई जना कार्यालय सहयोग खटाइएको छ । तीन वटा प्रतिनिधिसभा र छ वटा प्रदेशसभाको निर्वाचन क्षेत्र रहेको चितवनमा क्षेत्र नम्बर १ मा एक सय ३७ वटा मतदान केन्द्र, क्षेत्र नम्बर २ मा एक सय २२ वटा मतदान केन्द्र तथा क्षेत्र नम्बर ३ मा एक सय ४९ वटा मतदान केन्द्रमा गरि जम्मा जम्मा चार हजार आठ सय ९१ कर्मचारी खटिएका छन् । चितवनमा तीन लाख ५४ हजार ३६ मतदाताहरु मतदानमा सहभागी हुँदैछन् ।

Promise Education Consultancy