‘वैदेशिक रोजगारको नाममा बेचिदै महिलाहरु’

आनन्द पोखरेल
चितवन, १९ मंसिर । पछिल्लो समय वैदेशिक रोजगारीको नाममा महिलाहरु बेचबिखनमा पर्ने गरेका सरोकारवालाहरुले बताएका छन् । चितवनको भरतपुरमा आयोजना गरिएको अन्तरक्रियाका क्रममा न्यायाधीस, कानुन व्यवसायी तथा अधिकारकर्मीहरुले महिलाहरु गैरकानुनी रुपमा वैदेशिक रोजगारमा जानले समेत बेचबिखनमा पर्ने गरेको बताएका हुन् ।
पहिले भारतको दिल्ली बम्बैजस्ता शहरमा महिलाहरु बिक्री हुने गरेकोमा अहिले महिलाहरु ओमन, कुबेत, अफगानिस्तान, इरान जस्ता मुलुकमा रोजगारीको नाममा बेचबिखनमा पर्ने गरेका हुन् । महिलाहरु बैदेशिक रोजगारको नाममा गएपनि बेचबिखनमा पर्ने गरेका उल्लेख गर्दै चितवनका जिल्ला न्यायाधीश कुलप्रसाद शर्माले यसको नियन्त्रणको लागि सरकार मुख्य रुपमा जिम्मेवार बन्नुपर्ने बताए । ‘वैदेश रोजगारको नाममा महिलाहरु विदेश जाने गरेका छन्’ शर्माले भने, –‘त्यो रोजगार नभएर उनीहरु बेचबिखनमा परेका छन््, यौन शोषणमा परेका छन् ।’
वैदेशिक रोजगरबाट उद्धार गरिएका महिलाहरुले आफूलाई श्रम धेरै गर्नुपरेको र एक किसिमको हिंसामा पर्ने गरेको उल्लेख गर्ने भएपनि त्यहाँ कुन कुन प्रकारको हिंसामा पर्ने गरेका छन् भनेर खुलाउन नचाहने र खुलाउन पनि नहुने शर्माले बताए । ‘खालि काममा मात्रै शोषण भएँ भन्ने कुरा त्यो बाहिर भन्ने कुरा हो’ शर्माले भने, –‘बाहिर भन्ने नहुने खालका शोषणमा पनि महिलाहरु परेका हुन्छन् वैदेशिक रोजगारमा गएका महिलाहरु ।’ यस्ता खालका अपराधिक क्रियाकलाप रोक्नको लागि राज्य लाग्नुपर्ने र राज्यले आफ्ना नागरिकहरुप्रति जिम्मेवार बन्दै सुरक्षित वैदेशिक रोजगार निर्माण गर्नुपर्ने शर्माले बताए ।
मानव बेचबिखन विरुद्ध न्यायिक निकाय, प्रभावित सरोकारवाला तथा मानवअधिकार रक्षकहरुबीच मंगलबार भएको अन्तरक्रियामा अहिले वैदेशिक रोजगारीको नाममा बेचबिखन तथा यौन शोषण हुने गरेको सरोकारवालाहरु बताउँछन् । हालै माईती नेपालको प्रयासमा उद्धार गरिएकी भरतपुरकी एकजना पीडित महिलाले आफुलाई राम्रो जागिर लगाइदिने प्रलोभनमा पारि ओमन लगेपनि २४ घण्टासम्म काममा खटाएर शोषण गर्ने गरेको बताइन् । ओमनमा धेरै दुख पाएकोे तथा घर फर्किनको लागि नेपालबाट पैसा पठाउनु परेको उल्लेख गर्दै पीडित युवतीले महिलाहरुलाई गैरकानुनी रुपमा वैदेशिक रोजगारमा नजान आग्रह समेत गरिन् ।
नेपालबाट वैदेशिक रोजगारका लागि भन्दै महिलाहरु लगेर दलालहरुले त्यहाँ अरु व्यक्ति तथा घरमा लगेर बिक्री गरिदिने गरेको पीडित महिला बताउँछिन् । ‘म त वैदेशिक रोजगारको लागि भनेर भारतको विमानस्थल प्रयोग गरेँ फसेँ’ पीडित महिलाले भनिन्, –‘तपाईँहरु त्यसरी नफस्नुहोला, गैरकानुनी रुपमा जानु आफ्नै ज्यानको खतरा हुन्छ ।’
उक्त कार्यक्रममा माइती नेपालकी कानुन अधिकृत तथा अधिवक्ता सजनी जोशीले कार्यपत्र प्रस्तुत गर्दै बेचबिनखको रुप बदलिएर वैदेशिक रोजगार र शिक्षा, झुटो बिवाह, मसाज पार्लर, विभिन्न अङ्ग बेचबिखन तथा छालाको व्यापारमा परिणत हुने गरेको बताइन् । विश्वमा वर्षेनि २० लाख मानिस बेचिने गरेकोमा ७० प्रतिशत महिला र ५ प्रतिशत बालबालिका मध्ये अधिकांश यौन शोषणमा पर्ने गरेको जोशीको भनाइ छ । वैदेशिक रोजगारमा जाने महिला मध्ये दुई तिहाई महिला पीडित हुने गरेको उल्लेख गर्दै जोशीले दक्षिण एशियाबाट मात्रै वर्षेनि साढे एक लाख महिलाहरु यौन व्यवसायको लागि बेचबिखनमा पर्ने गरेको बताइन् ।
सरोकारवालाहरुले बेचविखनमा फितलो कानुनु, सुनुवाईमा समस्या, न्यायको पहुँचमा कमी, उद्धार पुनस्र्थापनमामा समस्याहरु देखिंदै आएको बताएका छन् । कार्यक्रममा बोल्दै न्यायाधीस सूर्यबहादुर थापाले गाउँ तहबाट नै चेतनामूलक कार्यक्रम जरुरी रहेको, वैदेशिक रोजगारमा जाँदा स्वदेशकै विमानस्थल प्रयोग गर्नुपर्ने बताए । चितवन जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष गोपिलाल देवकोटाले मानव बेचबिखनको स्वरुप बदलिएको भन्दै गाउँमा जिम्मेवार निकायलाई भेटेर परिचयपत्र देखाउँदै कामका लागि मान्छे लाने भनेर तस्करी हुने क्रम बढेको उल्लेख गरे ।
माईती नेपाल चितवनका क्षेत्रीय संयोजक ईश्वर गिरीले स्नातक पढेका महिलाहरु समेत तस्करमा परेको भन्दै जुनसुकै समुदायसमेत प्रलोभनमा प्रभावित हुने गरेको उल्लेख गरे । चितवनमा माईती नेपालले सचेतनामूलक कार्यक्रमसँगै पीडितहरुको उद्धार तथा संरक्षणमा काम गर्दै आएको गिरीको गिरीको भनाइ छ । विशेष गरि गरिबीका कारण महिलाहरु प्रलोभनमा परेर वैदेशिक रोजगारमा जाँदा बेचबिखनमा पर्ने गरेको गिरीले बताए ।

Promise Education Consultancy