मतगणनास्थल महिलामैत्री बनाइने

आनन्द पोखरेल
चितवन, १९ मंसिर । चितवनमा प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना महिला मैत्री बनाइने भएको छ । मतदान सकिएपछि मतगणनाको सुभारम्भ गर्दा गणक, सुरक्षाकर्मी र दलका प्रतिनिधि समेत महिला नै राखिने भएको हो ।
मतगणना सुरु गर्ने दिनको दिवा सत्रमा दलका प्रतिनिधिहरु महिला राख्ने विषयमा छलफल चलिरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले जनाएको छ । महिलाहरुको स्वभाव शालिन हुने भएकाले मतगणना व्यवस्थित गर्नका लागि मतगणनाको सुरुआती अवस्थामा मतगणना हल भित्र महिला राख्न लागिएको चितवनका मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले जानकारी दिए । चितवनको जनसंख्याको आधा संख्या रहेका महिलाले जिम्मेवारी पाए पूरा गर्न सक्छन् भन्ने कुरा प्रमाणित गर्न पनि महिलालाई परिचालन गर्न लागिएको शर्माको भनाइ छ ।
जिल्लाको तीन वटा प्रतिनिधिसभा र छ वटा प्रदेशसभाको गरि नौ वटै निर्वाचन क्षेत्रको मतगणना एकै पटक गरिने भएको छ । भरतपुरको चितवन माध्यमिक विद्यालयको भवनमा मतगणना गर्नको लागि व्यवस्थापन भइरहेको छ । मतगणनास्थलमा तारजारी नलगाउने भएपनि मतगणनास्थलमा सिसि क्यामेरा जडानको लागि भने छलफल भइरहेको मुख्य निर्वाचन अधिकृत शर्माले जानकारी दिए । मंसिर २२ गते बिहानबाट मतगणना सुरु गरेर २५ गतेसम्म प्रत्यक्ष तर्फको मतगणना सक्ने तयारी भएको शर्माको भनाइ छ ।

Promise Education Consultancy