चितवनमा अघोषित कफ्र्यू

 

चितवन, १९ मन्सिर । निर्वाचनको अनुगमनका लागि चितवन आएका निर्वाचन अनुगमन टोली प्रमुख सहन्यायाधिवक्ता उद्धवप्रसाद पुडासैनीले निर्वाचन आयोगका दुई आँखामध्ये एउटा आँखा निरन्तर चितवनमा रहेको बताएका छन् ।
स्थानीय तह निर्वाचनमा छवि बिग्रिएकाले पनि यहाँ सबैको ध्यान केन्द्रित भएको भन्दैै चनाखो रहनुपर्ने उनले बताए । मौन अवधिबारे पत्रकारसँगको अन्तरक्रियाका क्रममा सहन्यायाधिवक्ता पुडासैनीले आचारसंहिता उल्लंघन हुन नदिन अत्यन्तै चनाखो रही सहकार्य गर्न पत्रकार जगतको भूमिका महत्वपूर्ण रहने बताए ।
यस्तै अनुगमन टोलीकै प्रमुख सहसचिव रामकृष्ण सुवेदीले मौन अवधिदेखि मतदान हुँदासम्मको समय अति संवेदनशील रहने उल्लेख गरे । यसबीचमा सूक्ष्म अनुगमनकर्तासमेत परिचालित हुने भन्दै उजुरी परेको खण्डमा तत्काल कारबाही गर्ने चेतावनी दिएका छन् । मौन अवधिमा राजनीतिक दल तथा उम्मेदवार आम सर्वसाधारणले समेत सञ्चारमाध्यम, समाजिक सञ्जालसमेतमा पनि प्रचार गर्न नपाइने, उमेदवारको प्रचार हुने गरी समाचार वा सूचना सामग्री प्रसारण गर्न नपाइने उनले जोड दिए ।
मतदानको समयमा मतदाताले भयमुक्त वातावरणमा मतदान गर्न पाए नपाएको ,निर्वाचन कर्मचारीले कानूनबमोजिम कार्य गरे नगरेको समेत अनुगमन गरिने उनले प्रस्ट्याए । आचारसंहिता उल्लंघन गरे एक लाख रुपैंया जरिवानादेखि उमेदवारी रद्दको कारबाही हुन सक्ने प्रावधान रहेको उनले बताए ।
सो क्रममा चितवनका प्रमुख जिल्ला अधिकारी प्रजिअ नारायणप्रसाद भट्टले सोमबार मध्यरातबाट सुरु हुने मौन अवधिलाई अघोषित कफुर्यूको संज्ञा दिएका छन् । यस अवधिमा सभा सम्मेलन, भोज भतेर, भेला गर्न नपाइने र निर्वाचन विरोधी कुनैपनि गतिविधि गर्न नपाइने हुँदा अघोषित कफुर्यूको रुपमा पालना गर्न समेत आग्रह गरेका छन् । निर्वाचन बिथोल्ने गतिविधि हुन नदिन प्रशासन चनाखो रहेकोले अहिलेसम्म चितवनमा सुरक्षा रणनीतिले काम गरिरहेको भन्दै थप केही दिनको लागि संवेदनशीलता कायम रहने बताए ।

Promise Education Consultancy