चितवनमा निर्वाचन प्रचार बन्द, तीन सय मिटर वरिपरी प्रचार प्रसारका सामग्री हटाउन आग्रह (भिडियोसहित)

चितवन, १८ मंसिर । सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएकाले यस समयमा कुनै पनि निर्वाचन प्रचार प्रसारका गतिविधि नगर्न अनुगमन टोली प्रमुखहरुले बताएका छन् ।
मतदान सुरु हुने दिनको ४८ घण्टा अगाडिदेखि मौन अवधि सुरु हुने भएकोले सोमबार साँझ पाँच बजदेखि नै भेला हुने, छलफल गर्ने, मत माग्ने काम बन्द गर्न चितवनमा खटिएका अनुगमन टोली प्रमुखले आग्रह गरेका छन् । निर्वाचन आचार संहिता २०७२ अनुसार मौन अवधिमा सामाजिक सञ्जाल, सञ्चार माध्यम तथा कुनै पनि माध्यमबाट चुनावको प्रचार गर्न पाइदैन ।
नेपाल सरकारका सहसचिव तथा अनुगमन टोली प्रमुख रामकृष्ण सुवेदीले मतदान केन्द्रको तीन सय मिटर वरिपरी राखिएका निर्वाचन प्रचार प्रसारका सामग्री हटाउन समेत आग्रह गर्नुभएको छ । चितवनमा सुरक्षा योजना प्रभावकारी भएको र यसलाई अझै सुदृढ गर्दै मौन अवधिमा कुनै पनि गलत खालका प्रवृत्ति हावी हुन नदिने प्रमुख जिल्ला अधिकारी बताउनुहुन्छ ।
मतदानको दिनको मतदातालाई शान्तिपूर्ण रुपमा मताधिकार प्रयोग गर्न र निर्वाचनमा खटिएका प्रहरी र कर्मचारीलाई सहयोग गर्न आम मतदातासँग निर्वाचन अनुगमन टोलीले आग्रह समेत गरेको छ । मौन अवधिमा निर्वाचन आयोगबाट सुक्ष्म अनुसन्धान समेत खटिएकाले आचारसंहिता विपरितका गतिविधि नगर्न अनुगमन टोलीले अपिल गरेको छ ।