मर्निङ वाकमा निस्केका प्रचण्डका सामु पार्टी प्रवेश गर्नेहरुको लर्को लागेपछि…

पकौडी, भरतपुर १८ मंसिर । भरतपुरको वडा नं. १४ मा नेपाली कांग्रेसका युवा नेता विनोद जयसवालको नेतृत्वमा पचास बढी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । वडा नं. १४ को पकौडी बजारमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नव प्रवेशीहरुलाई टीका लगाएर पार्टीमा स्वागत गर्नु भएको थियो । अध्यक्ष प्रचण्ड एकाबिहानै ‘मर्निङ वाक’ मा निस्किएको बेला पकौडी बजारमा अनौपचारिक कार्यक्रममा उनीहरु पार्टी प्रवेश गरेका हुन ।

कार्यक्रममा चितवन क्षेत्र नं. ३ का उम्मेदवार समेत रहेका प्रचण्डबाट मात्रै चितवनको विकास सम्भव भएकोले आफूहरु पार्टी प्रवेश गरेको जयसवालले बताएका थिए । नव प्रवेशीहरुलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले देशको समृद्धिका लागि वाम एकताको निर्णय गरेको बताउँदै अब देश बनाउने जिम्मेवारी युवाहरुको काँधमा आएको बताउनु भयो । युवाहरुको पार्टी प्रवेशबाट आफू उत्साहित भएको बताउँदै प्रचण्डले चितवनको विकासका लागि युवाहरुको मुख्य भूमिका रहने बताउनुभयो ।

Promise Education Consultancy