गरिबको झुपडीमा पुगेनन् दलहरु

तुलमान गुरूङ
चितवन, १८ मंसिर । आसन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको लागि आज सोमबार रातिदेखि मौन अवधि सुरू हुँदैछ । राति १२ बजेदेखि कुनै पनि दलका उम्मेदवारले चुनावी प्रचारप्रसार गर्न पाउँदैनन् । त्यसैले पनि दलहरू चुनावी प्रचारप्रसारको आखिरीमा आइपुगेका छन् । तर, मजदूरहरूको लागि भने यो निर्वाचनले अझै पनि छुन सकेको छैन । न त उनीहरूसमक्ष कुनै पनि उम्मेदवार भोट माग्न नै आए । उम्मेदवारहरू निर्वाचन आचारसंहिता विपरीत ठूलाठूला स्पिकर लगाएर चुनावी गीत घन्काउँदै हिँडेका छन् । तर, गरिब मजदूरहरूको घरदैलोमा भने अहिलेसम्म कुनै पनि उम्मेदवार पुग्न सकेका छैनन् ।चितवन पोष्टमा खबर छ।
‘अहिलेसम्म कुनै पनि उम्मेदवार मेरो घरमा आएर मत मागेका छैनन्,’ भरतपुर–१० का हरिबहादुर विश्वकर्माले भने, ‘सायद गरिबलाई उम्मेदवारले पनि नपत्याएर होला ।’ हुन त उनलाई यो निर्वाचनप्रति खासै चासो पनि छैन । किनकि उनलाई आफ्नै काम प्यारो छ । आफ्नो काम छाडेर निर्वाचनमा होमिन उनलाई मन पनि छैन । बिहान उठेदेखि साँझसम्म उनी आफ्नै काममा व्यस्त हुन्छन् ।
‘नेपालको राजनीतिले फड्को मारे पनि दलित तथा गरिब जनताको समस्या जहाँको त्यहीँ छ,’ उनी भन्छन्, ‘अहिलेसम्म कुनै पनि दलले हाम्रो समस्यालाई व्यवहारमा ल्याउन सकेका छैनन् ।’ अझै पनि छुवाछुत प्रथालाई व्यवहारमा ल्याउन सकेको छैन । उनी चाहन्छन्, ‘सबैलाई समान व्यवहार होस् । किनकी अहिलेसम्म छुवाछुतको अन्त्य हुन सकेको छैन ।’ ठूलाजात भनिएकाहरूबाट सानोजात भनेर आफू सधैँ हेपिनुपरेको उनको तितो अनुभव छ । त्यसैले पनि अबको निर्वाचनमा जोकसैले जिते पनि छुवाछुत प्रथालाई पूर्णरूपमा व्यवहारमा ल्याउन उनले सुझाव दिए ।
उनको घरमा बुबाकै पालादेखिको आरन छ । सानैमा बुबाबाटै जानेको काम बुबाको निधनपछि अहिले उनी आफैँले सम्हाल्दै आएका छन् । तर, नेपालमा राजनीतिक परिवर्तन भए पनि समाज परिवर्तन नभएको उनको बुझाइ छ । अझै पनि आफूलाई देखे तर्केर हिँड्नेको कमी नभएको उनी बताउँछन् । यो समस्या हरिबहादुरको मात्रै होइन, धेरैको यस्तै समस्या छन् ।
रामेछाप घर भई विगत केही वर्षदेखि भरतपुर–११ स्थित बसेनीमा आरन सञ्चालन गर्दै आएका रमेश विश्वकर्मा र भुवनबहादुर विश्वकर्माको पनि उस्तै व्यथा छ । बाइपास रोडको छेवैमा भए पनि कुनै पनि दलका उम्मेदवार उनीहरूको अगाडि देखा परेका छैनन् । २०७२ सालको भूकम्पले विनाशकारी भूकम्पले घरबारै उठाइदिएपछि चितवन आएका उनीहरू अहिले आफ्नै पेशामा रमाइरहेका छन् । कुनै उम्मेदवार भोट माग्न आए पनि बोल्ने फुर्सद छैन उनीहरूलाई । तर, जसले जहाँबाट जिते पनि सामाजिक विकृतिको अन्त्य हुनुपर्छ भन्ने उनीहरूको माग छ । ‘हिजोको तुलनामा धेरै फरक छ । तै पनि पूर्णरूपमा भने कार्यान्वयन हुन सकेको छैन,’ भुवनबहादुरले भने । गरिब जनतालाई सधैँ भोट बैंकको रूपमा मात्रै प्रयोग गरिएको उनको भनाइ छ । जोकसैले पनि आफूले जानेको सीपलाई राम्रोसँग सदुपयोग गरेर खाने वातावरण मिलाइदिन उनीहरूले अनुरोध गरेका छन् ।

Promise Education Consultancy