चितवन माविमा मतगणना गर्ने तयारी

चितजन, १८ मंसिर  । मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मत गणना चितवन माविमा गर्ने निर्वाचन कार्यालयले तयारी थालेको छ ।
जिल्ला प्रशासन कार्यालयमा शुक्रबार भएको दलहरुसहितको बैठकमा मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले जिल्लाका सबै क्षेत्रका मत पेटिकाहरु चितवन माविमा ल्याउने र त्यही गणना गर्ने तयारी सुरू गरेको जानकारी गराएका हुन् ।
चितवनमा प्रतिनिधिसभाका तीन क्षेत्र र प्रदेशसभाका छ क्षेत्रमा मंसिर २१ गते बिहीबार मतदान हुँदैछ । जिल्लाभर १६१ स्थानमा ४०८ वटा मतदान केन्द्रहरु छन् । सबै मतदान केन्द्रका मतपेटिकाहरु चितवन माविमा संकलन भएपछि दलहरुसँग बैठक गरेर मतगणना सुरू गर्ने मुख्य निर्वाचन अधिकृत शर्माले बताए । मतदानको भोलि पल्ट साँझदेखि गणना सुरू हुने सम्भावना छ ।
‘पहिला मतपेटीकाहरु सबै संकलन गर्ने छौं । टाढाटाढा पनि मतदान केन्द्रहरु छन् । सबै मतपेटिकाहरु मतदान केन्द्रबाट चाडोभन्दा चाडो मतगणना स्थलमा जम्मा गर्ने तयारी हाम्रो छ । मत पेटिएकाहरु आएपछि हजुरहरुसँग बैठक बसेर गणना सुरू गर्ने छौै’ शुक्रबारको बैठकमा दलका प्रतिनिधहरुसँग शर्माले भने ।
यसअघि भएको स्थानीय तह निर्वाचनमा सम्बन्धित गाउँपालिका र नगरपालिकामा नै मतगणना भएको थियो । तर, पहिलो संविधानसभा, दोस्रो संविधानसभा सदस्यको निर्वाचनको मत गणना जिल्लाभरकै चितवन मावि मै भएको थियो । मत गणना चितवन माविमा भइरहँदा क्षणक्षणमा प्राप्त मतसंख्या सर्वसाधरण सामु पु¥याउने व्यवस्था पनि मिलाउने शर्माले बताए ।
‘हामी माइकबाट बेलाबेलामा मत संख्या सार्वजनिक गर्ने छौं । सुन्नका लागि सर्वसाधारणहरु भेला हुने ठाउँमा शीतबाट जोगाउने केही उपाए छ भने त्यो पनि गर्ने छौं । सजिलोसँग सही नतिजा पु¥याउन हामी कटिबद्ध छौं’ दलका प्रतिनिधिलाई मुख्य निर्वाचन अधिकृत शर्माले सुनाए । मतगणना शान्तिपूर्णरुपमा सम्पन्न गर्न आफूहरु कटिबद्ध रहेको उनले बताए ।
मतगणना स्थलमा गणकहरुमा महिलालाई प्राथमिकता दिन मुख्य निर्वाचन अधिकृत शर्माले दलहरुसँग आग्रह गरे । ‘लगातार २४ सैं घण्टा मतगणना हुने छ । प्रतिनिधिहरु पनि त्यही अनुसार बस्ने छन् । प्रतिनिधिहरुले पालो गर्नुपर्ने होला । कुनै बेला महिला प्रतिनिधिहरु मात्रै गणना स्थलमा बस्ने व्यवस्था मिलाए राम्रो सन्देश जाने थियो’ शर्माले भने ।
दलहरुले महिला प्रतिनिधि मात्रै राखे त्यो बेला आफूहरुले कर्मचारीहरु पनि महिला नै राख्ने शर्माले बताए । सुरक्षाका लागि पनि महिला प्रहरीहरु नै राख्ने वातावरण मिलाउने उनले बताए । चितवनमा जनसंख्या मात्रै नभएर मतदाता पनि महिला नै बढी रहेका छन् ।
स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाको मतगणनाका बेलामा मतपत्र च्यातिएपछि चितवनको बद्नामी भएको छ । अब त्यसो हुन नदिन सबै पक्ष गम्भीररुपमा लाग्नुपर्ने अवस्था आएको छ ।

Promise Education Consultancy