अपांगमैत्री संरचना निर्माणमा जोड

चितवन, १८ मंसिर । विविध कार्यक्रमको आयोजना गर्दै २६औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस चितवनमा पनि मनाइएको छ । ‘सबैका लागि दिगो र समतामूलक समाज उन्मुख रुपान्तरण’ भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रमको आयोजना अपाङ्ग उत्थान जिल्ला समन्वय समिति चितवनले गरेको थियो ।
दिवसकै अवसर पारेरे अपाङ्ग क्षेत्रसँग सम्बन्धित चितवनमा रहेका संघसंस्थाको सहभागितामा भरतपुरको चौबिसकोठीबाट निकालिएको सचेतनामूलक ¥यालीमा सहभागीहरु जिल्ला समन्वय समिति अगाडि पुगेर अन्तरक्रियामा सहभागी भएका थिए । अन्तरक्रियामा सहभागीहरुले अपाङ्गता भएका व्यक्तिलाई दया र मायाको दृष्टिले नभई अधिकारमुखी दृष्टिकोणबाट विकासको मूल प्रवाहमा समाहित गर्दै आत्मनिर्भर तुल्याउने नीति नेपाल सरकारले आत्मसात गर्नुपर्नेमा जोड दिए ।
अझैपनि अपाङ्गता भएका व्यक्तिहरुलाई समाजमा हेलाका दृष्टिकोणले हेर्ने गरिएको उनीहरुले गुनासो गरेका छन् । शिक्षा, स्वास्थ्यलगायतका सार्वजनिक संस्थाहरुको भवन तथा भौतिक संरचना अपाङ्गतामैत्री हुनुपर्नेमा अपाङ्गता भएका व्यक्तिहरुले जोड दिएका छन् ।
कार्यक्रममा भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाहले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिको कार्यान्वयन गरी अपांगतासम्बन्धी कानुनलाई घरेलुकरण गर्नका लागि महानगरपालिकाले प्रयास गरिरहेको बताउनुभयो । साधन, स्रोत र सेवामा अपाङ्गता भएकाको सरल र सहज पहुँच बढाउन क्षमता अभिवृद्धि गरी रोजगारीका अवसर प्रदान गर्नतर्फ महानगरपालिका प्रतिवद्ध रहेको शाहको भनाइ थियो ।

Promise Education Consultancy