भरतपुर–५ को वडा कार्यालय नजिकै बम विस्फोट

चितवन, १७ मंसिर ।भरतपुर महानगरपालिका वडा नं ५ को वडा कार्यालय नजिकै गएराति २ बजे सिलिन्डर बम विस्फोट भएको छ । विस्फोटबाट वडा कार्यालयको झ्यालमा क्षति पुगेको छ । सो विस्फोट लगत्तै वडा अध्यक्ष पदमपाणी सुवेदीको घर नजिकै अर्को सकेट बम फेला परेको चितवन प्रहरीले जानकारी दिएको छ । सो बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारेको छ । अहिले सो क्षेत्रको अवस्था सामान्य रहेको वडा अध्यक्ष पदमपाणी सुवेदीले जानकारी दिनुभयो ।

यस्तै भरतपुर ५ कैलाशनगरमा पनि सकेटबम फेला परेको र नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्कृय परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा चितवनमा शंकास्पद वस्तु भेटिने र बम विस्फोटका घटना वढेका छन् ।