साना दलका उममेद्वार भनछन् हामीमा आचारसंहिता उल्लंघन गर्ने हैसियत छैन

काठमाडौँ, १७ मंसिर ।  प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरण निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलले प्रचार तीव्र पारेका छन् । ठूला दलको तुलनामा कमजोर देखिए पनि उनीहरू कुनै कसर नराखी प्रचारमा जुटेका छन्।ठूला दल राष्ट्रिय अखबारमा छाउन थालेका छन् भने साना दल सामाजिक सञ्जालमा केन्द्रित छन् ।

साना दलका उम्मेदवारले सामाजिक सञ्जालका साथै विभिन्न अनलाइन र युट्युब च्यानल प्रयोग गरिरहेका छन् । कतिपय उम्मेदवारले आफ्ना प्रोफाइल विभिन्न अनलाइनमा छ्यापछ्याप्ती बनाएका छन् । ठूला दलको प्रचारमा ओझेल परेका साना दलका उम्मेदवारले मतदाता रिझाउन विभिन्न शैली अपनाएका छन् ।

काठमाडौं ४ बाट विवेकशील साझा पार्टीका प्रतिनिधिसभा उम्मेदवार सुबुना बस्नेत कात्तिक अन्तिमदेखि टेम्पो रिजर्भ गरेर प्रचारमा जुटिरहेकी छन् । उनी प्रचारमोहले नभई वातावरणमैत्री टेम्पो चढेर स्वावलम्बनको उदाहरण दिन खोजेको तर्क गर्छिन् । ‘यो चर्चा कमाउने उद्देश्यले गरिएको होइन । वातावरण प्रदूषणविरुद्ध उदाहरण पेस गर्न खोजेकी हुँ’, उनी भन्छिन् । विवेकशीलका अन्य उम्मेदवार पनि टेम्पो प्रयोग गरिरहेका छन् ।

ललितपुर १ बाट संघीय समाजवादी फोरमका प्रतिनिधिसभाका प्रत्याशी योगेन्द्र घिसिङले आफ्नो जीवनकथालाई स्केच बनाएर बाँडिरहेका छन् । चुनावी पर्चामा उनकोे सम्पूर्ण जीवन कथा पढ्न पाइन्छ । उनले बाल्यकालमा हलो जोतेको, गोठालो गएको, स्कुल गएको र युद्धमा घाइते भएको स्केचमा कोर्न लगाएर ब्रोसरमा छापेका छन् ।

तस्बिरलाई फ्लेक्स बोर्डमा समेत प्रिन्ट गरी गाउँगाउँमा टाँसेका छन् । चित्रको माथि उनले ‘तस्बिर आफैं बोल्छ’ समेत लेखेका छन् । ‘लोकतन्त्र प्राप्तिका लागि मैले गरेको संघर्ष चित्रमा उल्लेख गरेको हुँ । जीवन कथा सुनाएर भोट मागेको होइन’, उनले भने ।

नवलपरासी बर्दघाट सुस्तापूर्व क्षेत्र २ मा देशभक्त गणतान्त्रिक मोर्चाबाट प्रतिनिधिसभाका प्रत्याशी नारायण पंगेनी तीन सातादेखि मोटरसाइकलमार्फत प्रचार गरिरहेका छन् । दुई÷चार जना मतदाताबीच पुग्दै उनले फेसबुकमा फोटो अपलोड गर्ने गरेका छन् । उनी सम्पूर्ण निर्वाचन क्षेत्रमा मोटरसाइकलमै पुगे । शुक्रबारबाट भने उनले प्रचारका लागि ठूलो गाडी प्रयोग गरेका छन् । ‘मेरो उम्मेदवारी जितभन्दा दुई गठबन्धनलाई कमजोर बनाउनु हो’, उनले भने । उनी बेलाबेलामा स्थानीय टेलिभिजनमा पनि देखिने गरेका छन् ।

नयाँ शक्तिबाट काठमाडौं ७ का प्रतिनिधिसभा प्रत्याशी ईश्वर रिजाल पनि मोटरसाइकलमै चुनावी अभियान सञ्चालन गरिरहेका छन् । घरदैलो कार्यक्रम, कोणसभा गर्दै आएका उनी बेलाबेला फेसबुक लाइभ पनि गर्छन् । उनी भन्छन्, ‘अरूले हजारौं फ्लेक्स बोर्ड बनाए । मैले थोरै बनाएर केही चोकमा टाँगेको छु ।’आजको अन्नपूर्णपोष्टमा खबर छ।

Promise Education Consultancy