यसकारण जाडोयाममा झ्यालढोका बन्द गरी सुत्नु अत्यन्त जोखिमपूर्ण

भारतको राजधानी नयाँ दिल्लीको केन्ट इलाकामा हालै एउटा दुर्घटना भयो । एउटा क्याटरिङ भ्यानभित्र सुतेका ६ जना मानिसको मृत्यु भयो ।ती ६ जना क्याटरिङको काम सकेर राति भ्यानभित्र सुत्न गएका थिए । साथमा उनीहरूले कोइला बालेको चुल्हो पनि लगेका थिए । उनीहरूले भ्यानका सबै झ्यालढोका बन्द गरेर सुते तर चुल्हो भने निभाएनन् । शायद तातोमा आरामले सुत्न उनीहरूले भ्यानभित्र चुल्हो लगेका थिए ।

प्रहरीका अनुसार भोलिपल्ट बिहान भ्यानको ढोका खोल्दा निसास्सिएर उनीहरू सबैजनाको मृत्यु भइसकेको थियो ।

यसरी निसास्सिएर मृत्यु भएका धेरै समाचार यसअघि पनि बर्सेनि आइरहेका छन् । नेपालमा पनि जाडो याममा यसरी निसास्सिएम मृत्यु भएका समाचार आउने गरेका छन् ।स्वास्थ्य खबरले लेखेको छ।

खासगरी जाडोयाममा अधिकांशले घर, पसल वा कार्यालयमा कोठा तताउन ब्लोअर, हिटर वा कोइला बाल्ने गर्छन् । तर यसरी कोठा तताउन हिटर, ब्लोअर वा कोइला बाल्नेजस्ता उपाय कति सुरक्षित छन् ?

डाक्टर के भन्छन् ?
इन्डियन मेडिकल एसोसिएसन (आइएमए) का डाक्टर केके अग्रवाल यसरी हिटर, ब्लोअर वा कोइला बाल्दा भेन्टिलेसन हुनु अत्यन्त आवश्यक रहेको बताउँछन् । उनका अनुसार कोठामा भेन्टिलेसन भएन भने त्यहाँ ज्यानकै जोखिम हुन्छ ।

कोठा तताउन हामीले कोइला वा दाउरा बाल्दा वा मट्टितेलको हिटर बाल्दा यसबाट निस्कने ग्यास कार्बन मोनोअक्साइडले हामी निसास्सिन्छौं र मृत्यु हुनसक्छ । अझ खासगरी कोठाका सबै झ्यालढोका बन्द गरी भेन्टिलेसन नभए त मृत्यु निश्चितजस्तै हुन्छ । गाडीको इन्जिन चालु राखेर भित्र बस्दा पनि यस्तो हुनसक्छ ।

डाक्टर अग्रवालका अनुसार कोठा तताउन उपयोग गरिने कुन साधन थोरै हानिकारक र कुन धेरै भन्नुको कुनै अर्थ छैन । कुरा के मात्र हो भने तीमध्ये कुनै पनि साधन बालिने ठाउँमा भेन्टिलेसन (हावा पस्ने र निस्कने ठाउँ) छ छैन, त्यो महत्वपूर्ण हुन्छ ।

चर्मरोग विशेषज्ञ डाक्टर अमित लुथराका अनुसार धेरैबेरसम्म ब्लोअर, हिटर वा आगो ताप्दा सुख्खापन (ड्राइनेस)को समस्या आउन सक्छ, खासगरी प्रौढ र वृद्धलाई ।

यसरी आगो ताप्दा चाया (ड्यान्ड्रफ)को पनि समस्या सुरु हुन वा बढ्न सक्छ । धेरैबेरसम्म आगो ताप्दा (हिटर, ब्लोअरमा समेत) हाम्रो छालाको प्राकृतिक नरमपना प्रभावित हुन्छ र खस्रो तथा सुख्खा हुन्छ ।

कार्बन मोनोअक्साइडले कसरी असर गर्छ ?
डाक्टर संचयन रायका अनुसार कार्बन मोनोअक्साइड एउटा विषालु ग्यास हो । कोइला, दाउरा वा काठ बालिरहेको ठाउँ, कोठामा भेन्टिलेसन नभए सास फेर्दा हामीले अक्सिजनसँगै कार्बन मोनोअक्साइड दुवै लिन्छौं ।

कार्बन मोनोअक्साइडले हाम्रो रगतको हेमोग्लोबिनसँग प्रतिक्रिया गर्छ र कार्बोक्सिहेमोग्लोबिनमा परिणत हुन्छ ।

खासमा हाम्रो रगतको रातो रक्तकोष (आरबिसी), अक्सिजनभन्दा पहिले कार्बन मोनोअक्साइडसँग प्रतिक्रिया गर्छ । त्यसैले यदि हामी अक्सिजनभन्दा कार्बन मोनोअक्साइड धेरै भएको कुनै ठाउँमा छौं भने बिस्तारै बिस्तारै हाम्रो रगतमा अक्सिजनको साटो कार्बन मोनोअक्साइड भरिन्छ ।

यसो भएपछि शरीरका मुटु, कलेजो, फोक्सो, मिर्गौलाजस्ता महत्वपूर्ण अंगमा अक्सिजनको कमी भएर हाइपोक्सियाको स्थिति उत्पन्न हुन्छ । फलस्वरुप ती अंगका टिस्यु मर्न थाल्छन् र मृत्यु हुने सम्भावना बढ्छ ।

यसका लक्षण
हामीले सास फेरिरहेको वातावरणको हावा विषालु भए नभएको थाहा पाउन आवश्यक छ । कार्बन मोनोअक्साइड धेरै भएको ठाउँमा हामीले सास फेर्दा टाउको दुख्ने, रिंगटा लाग्ने, वाकवाक लाग्ने, उल्टी हुन खोज्नेजस्ता लक्षण देखिन्छन् ।
यसबाहेक सास फेर्न कठिन हुने, आँखा पोलेजस्तो हुने पनि हुन्छ ।

जोगिने उपाय
हामी पनि कोठा तताउन कोइला, दाउरा वा हिटर, ब्लोअर बाल्दै हुनुहुन्छ भने भेन्टिलेसन खुला राख्नुहोस् । अझ खासगरी झ्यालढोका बन्द गरेर कोइला वा दाउरा नबाल्नुहोस् । हिटर वा ब्लोअरको अत्यधिक प्रयोग पनि हानिकारक हुन्छ ।

Promise Education Consultancy