आज मौसम खुल्ने सम्भावना कम

काठमाडौँ, १६ मंसिर । आज काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँको मौसम खुल्ने संभावना कम रहेको मौसमविदले बताएका छन् । बढ्दै गएको प्रदुषणका कारण मौसम खुल्ने संभावना निकै कम रहेको मौसमविद वरुण पौडेलले बताउनुभयो ।
उहाँका अनुसार पानी परे वा हावा चले मौसम केही सफा हुनसक्छ । तर अहिले तत्काल पानी पर्ने वा हावा चल्ने संभावना नभएको उहाँले बताउनुभयो । मौसम नखुल्दा पारिलो घाम लाग्ने छैन । यसले गर्दा चिसो पनि निकै बढेको छ । गएको वर्ष यो समयमा काठमाडौंको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस रहेकोमा शनिबार बिहान काठमाडौंको तापक्रम ५ दशमलव ८ डिग्रीमा झरेको छ ।
यस्तै गएको वर्ष माइनस १ दशमलव ५ डिग्री मापन गरिएको जुम्लाको शुक्रबारको न्यूनतम तापक्रम माइनस ४ दशमलव ५ डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अरु ठाउँको तापक्रम पनि पोहोरको भन्दा ४ डिग्रीसम्म कम भैसकेको छ । अहिले पनि धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ ।
प्रदुषण धेरै भएको ठाउँमा अहिलेको हुस्सु हटेपनि तुँवालो लाग्ने मौसमविद् पौडेलको भनाई छ । तुँवालो लागेपछि भिजिविलिटी पनि कम हुन्छ ।