आवश्यकता अनुसार संसदीय निर्वाचनको उपयोग र बहिस्कार गर्न सकिने महोन वैद्यको भनाइ

चितवन, मंसिर १५ । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले आवश्यकता अनुसार संसदीय निर्वाचनको उपयोग र बहिस्कार गर्न सकिने बताउनुभएको छ ।

अहिलेको सन्दर्भमा क्रान्ति आवश्यकता भएकोले यसको संसदीय निर्वाचनलाई बहिस्कार भन्दा उपयुक्त हुने भन्दै आफूहरुले निर्वाचनमा भाग लिएको बताउनुभयो ।

शुक्रबार भरतपुरमा आयोजना गरिएको नेकपा क्रान्तिकारी माओवादी समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चाको चुनावी सभा कार्यक्रमलाई सम्बोधन गर्दै वैद्यले जनताको बीचमा गएर पार्टीको नीति र विचार राख्दै आफूहरु कसरी अगाडि बढ्न चाहेको भन्ने कुरा जनतालाई बुझाउन पनि निर्वाचनमा होमिएको वैद्यको भनाइ थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव वैद्यले अहिले भनिएको वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन सहितका पार्टीहरुले पुरानो संसदीय व्यवस्था, पुरानो राज्य सत्ता र अहिलेको संविधानको संरक्षण गर्नका लागि उनीहरुले चुनावमा सहभागिता जनाएका बताउनुभयो । वैद्यले आफूहरु भने उनीहरुको ठिक विपरित रहेर निर्वाचनमा होमिएको बताउनुभयो ।

चितवनका तीन वटै निर्वाचन क्षेत्रबाट नेकपा क्रान्तिकारी माओवादी समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चाले उम्मेदवार खडा गरेको छ । मोर्चाका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि चितवन क्षेत्र नम्बर १ बाट घननाथ सापकोटा, क्षेत्र नम्बर २ बाट अशोक शर्मा र क्षेत्र नम्बर ३ बाट टंक रेग्मीले उम्मेदवारी दिएका छन् ।