निर्वाचनको मिति नजिकिदै जाँदा चितवनमा आचारसंहिता उल्लंघनका घटना बढे / निर्वाचन अधिकृतको कार्यालय बेखबर

 

चितवन मंसिर १५ । चितवनमा चुनावी महोल हवात्तै तातेको छ । तर पनि यहाँ प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिदै गर्दा निर्वाचन आचार संहिता उल्लंघन गर्ने होडबाजी नै चलेको छ ।
सार्वजनिक स्थानमा सभा सम्मेलन गर्नेदेखि लिएर, घरदैलोमा स्पीकरसहितको माइक प्रयोग गर्ने, बिजुलीको पोल तथा तारमा निर्वाचन चिन्ह अंकत झण्डा तथा तुल व्यानर झुण्डाउने गतिविधि बढ्दै गएको हो ।

हेभीवेट उम्मेदवारका कारण चर्चाको शिखरमा पुगेको चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा राजनीतिक दलहरुले आचारसंहिता उल्लंघन गरेका छन् । चितवनको क्षेत्र नम्बर ३ मा वामगठबन्धन र लोकतान्त्रिक गठबन्धनद्वारा आचारसंहिता उल्लंघनमा प्रतिस्पर्धा नै भएको छ । आचार संहिताले व्यवस्था गरेबमोजिम कुनै पनि सार्वजनिक स्थानमा झण्डाहरु राख्न नपाइने चितवनका मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माको भनाइ छ ।

चितवनको क्षेत्र नम्बर ३ मा वाम गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तथा लोकतान्त्रिक गठबन्धनको तर्फबाट बहालवाला मन्त्री विक्रम पाण्डेसहितका व्यक्तिहरु उम्मेदवार बनेका छन् । निर्वाचन आचार संहिता २०७२ लाई जिस्काउने गरि क्षेत्र नम्बर ३ मा गतिविधिहरु भइरहेका भएपनि निर्वाचन अधिकृतको कार्यालयमा कसैले उजुरी नगरेको चितवन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत शम्भुराज रेग्मी बताउँछन् ।

निर्वाचनलाई मर्यादित र सभ्य बनाउनतर्फ कुनै पनि दलका उम्मेदवारले ध्यान नदिएर निर्वाचन आचारसंहिताको खिल्ली उडाइरहेका छन् । चितवनमा साना राजनीतिक दलले भन्दा पनि ठूला राजनीतिक दलले सबैले देख्ने गरि निर्वाचन आचारसंहिता मिचेर काम गर्दा समेत निर्वाचन आयोग भने लिखित उजुरीको प्रतीक्षामा बसेको छ ।

Promise Education Consultancy