रुकुमका २ मतदान केन्द्रमा मतदान सुरु

रुकुम, १५ मंसिर । आईतबार मतदान स्थगित भएका रुकुम (पश्चिम)का २ मतदान केन्द्रमा पुनः मतदान सुरु भएको छ । बाँफिकोट गाउँपालिका ५ को रत्न आधारभुत विद्यालय काँडा मतदान स्थलको (क)मतदान केन्द्र र आठविसकोट नगरपालिका ११ को नेपाल राष्ट्रिय माध्यामिक विद्यालय गतसैना मतदान स्थलको (ख) मतदान केन्द्रमा पुनः मतदान सुरु भएको हो ।

आईतबार मतदानका क्रममा मतपत्रमा एसिड राखेर मतपेटिकामा खसाल्दा मतपेटिकामा आगलागी भएपछि २ मतदान केन्द्रको मतदान स्थगित भएको थियो । दुबै मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा मतदान चलिरहेको छ ।

मतदाताहरु मतदान केन्द्रमा आईरहेको र मतदान गरिरहेको बाँफिकोट ५ मतदान केन्द्रका मतदान अधिकृत तेजप्रसाद पौडेलले जानकारी दिए । सम्भावित घटनालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ ।

आईतबार कडा सुरक्षा चेकजाँचका बीच पनि मतदाताले एसिड लुकाएर मतपेटिका खसाल्न सफल भएपछि आज सुरक्षा चेकजाँचलाई झनै कडा बनाईएको छ । बाँफिकोट ५ मा प्रतिनिधि सभा र आठविसकोट ११ मा समानुपातिक सदस्यका लागि पुनः मतदान भैरहेको हो । अन्य सदस्यका लागि भने आईतबारै मतदान भएको थियो । मतदान बेलुकी ५ बजेसम्म जारी रहने छ ।

Promise Education Consultancy