देशभर ८८४ जना सांसद,पुस दोस्रो सातादेखि सरकार गठन प्रक्रिया थालनी हुने

काठमाडौं, १५ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलगत्तै मुलुकले आठ सय ८४ जना सांसद पाउनेछ । प्रतिनिधि र प्रदेशसभाको पहिलो चरणको निर्वाचन १० मंसिरमा भएको थियो भने दोस्रो चरण निर्वाचन यही मंसिर २१ मा हुँदैछ । यी दुवै चरणबाट निर्वाचित हुने आठ सय २५ जना र राष्ट्रिय सभामा निर्वाचित हुने ५९ जना गरी सांसदको जम्मा संख्या आठ सय ८४ पुग्नेछ ।
संविधानको धारा ८३ मा व्यवस्था भएबमोजिम प्रतिनिधिसभा र राष्ट्रियसभा नामका दुई सदनसहितको संघीय व्यवस्थापिका रहने र यसलाई संघीय संसद् भनिनेछ ।यो संसद्मा प्रतिनिधिसभामा प्रत्यक्षबाट एक सय ६५ र समानुपातिकबाट एक सय १० गरी दुई सय ७५ सांसद रहनेछन् भने राष्ट्रियसभामा ५९ सदस्य रहनेछन् ।
संघीय संसद्मा प्रतिनिधिसभा र राष्ट्रिय सभाका गरी कुल तीन सय ३४ जना सांसद रहनेछन् । संविधानमा प्रतिनिधि सभाका सदस्यबाट मात्रै प्रधानमन्त्री छानिने प्रावधान छ ।
संविधानको धारा ७६ अनुसार राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गर्ने व्यवस्था छ ।
निर्वाचन आयोगका प्रवक्ता आनन्द ढकालले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणना एक सातामा र समानुपातिकतर्फको मतगणना दोस्रो साताभित्र सम्पन्न गर्ने तयारी गरिएको बताए ।आयोगको यो तयारीसँगै पुस दोस्रो सातादेखि सरकार गठन प्रक्रिया थालनी हुनेछ ।
संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने प्रावधान रहे पनि कसैले पनि बहुमत प्राप्त गर्न नसके राष्ट्रपतिले प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्य भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने र त्यसरी नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्नेछ । आजको अन्नपूर्णपोष्टमा खबर छ।

Promise Education Consultancy