त्रिशूलीमा गाडी खस्दा १० वर्षमा ५९६ जनाको मृत्यु

काठमाडाैं, १४ मंसिर । त्रिशूली नदीमा अहिलेसम्म कति व्यक्तिले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् भन्ने यकिन तथ्यांक नभए पनि विगत १० वर्षको अवधिमा ज्यान जानेको संख्या ५९६ रहेको छ । धादिङदेखि चितवनसम्मको सडकखण्डमा सवारी दुर्घटनाबाट ५९६ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयको तथ्यांकले जनाएको छ । त्रिशूलीमा परेर पनि अंगभंग हुनेको संख्या भने हजारौं नाघ्ने प्रहरीको भनाइ छ ।

मध्यक्षेत्र प्रहरी कार्यालय हेटांैडाका अनुसार त्रिशूली सडकखण्डमा मात्रै यो दुर्घटना भएको हो । तर, त्यसभन्दा यता र उताको सवारी दुर्घटान पनि कम कहालीलाग्दा छैनन् । गत आर्थिक वर्षको अन्तिमको सरकारी तथ्यांकअनुसार मध्य क्षेत्रको त्रिशूली सडकखण्डमा मात्रै १ हजार ८ सय १० सवारी दुर्घटना भएका थिए । मध्य क्षेत्रले धादिङ त्रिशूली सडकखण्डलाई सवारी दुर्घटनाको ‘रेड जोन’मा राखेको राजधानी दैनिकमा खबर छ ।

प्रहरीले दिएको जानकारीअनुसार २०७२ वैशाख ९ गते धादिङको नौबिसेमा बस दुर्घटना हुँदा १७ जनाको एकैपटक मृत्यु भयो । धादिङ जिल्लाको नौबिसेमा पशुपतिनाथ तीर्थयात्राका लागि आएको भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा १६ जना भारतीय धार्मिक पर्यटकको मृत्यु भएको थियो । धादिङ ट्राफिक प्रहरीका अनुसार २०७२÷७३ मा ९५ वटा सवारी दुर्घटना हँुदा ६५ जनाको मृत्यु भएको छ भने १ सय २१ जना घाइते भएका छन् ।

गत वर्ष रौतहटको सदरमुकाम गौरबाट पोखराका लागि छुटेको बस नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला नजिकबाट त्रिशूली नदीमा खस्दा २५ यात्रुको मृत्यु भयो भने १६ घाइते भए । १० अझै बेपत्ता रहेको भन्दै खोजबिनका लागि आफन्तले प्रहरीमा निवेदन दिए । उनीहरूमध्ये अझै केही त फेला नै परेका छैनन् । ११ भदौमा सडकखण्डको चण्डीभन्ज्याङ–९ स्थित जलबिरेबाट ना३ख ४५५६ नम्बरको मालवाहक ट्रक त्रिशूलीमै खस्यो । वीरगन्जबाट तनहुँ जाँदै गरेको ट्रक त्रिशूलीमा खसी आधा डुबेको थियो । ट्रकको हुटमा बसिरहेका सात जनालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको थियो ।

त्यस्तै, गत वर्ष पृथ्वी राजमार्गअन्तर्गत चितवनको दारेचोक–७ मा पुलबाट त्रिशूली किनारमा ट्रक खस्दा दुई जनाको ज्यान गयो । दुई घाइते भए । काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको ना३ख ९९०६ नम्बरको ट्रक अनियन्त्रित भई चुमखोलाको पुलबाट त्रिशूली किनारमा खसेको थियो । दुई वर्षअघि मुग्लिननजिकै घोप्टेभीरबाट पूर्वमुख्यसचिव तथा गृहमन्त्री माधव घिमिरे चढेको गाडी त्रिशूलीमा खस्दा तीन जनाको मृत्यु भयो भने घिमिरे भने अझै बेपत्ता छन् । उनीहरूको खोजीका लागि सशस्त्र प्रहरी विपद् व्यवस्थापनको कुरिनटारको टोली नवलपरासीसम्म पुगेको छ । तर, अझै फेला पार्न सकेको छैन ।

पछिल्लो समय यसखण्डमा दुर्घटना हुने क्रम रोकिएको छैन । सवारी चाप बढी, साँघुरो सडक र तीव्र गतिका कारण दुर्घटना हुने गरेको पाइएको छ । यस खण्डमा साना र ठूला दुर्घटना नभएका दिन हुँदैन । सडकछेउमा पसल तथा होटल व्यवसाय गर्नेहरू यस्ता दुर्घटनाका साक्षी बन्छन् । प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानीरिक्षक (डीआईजी) मनोज न्यौपानेका अनुसार अधिकांश दुर्घटना ओभरटेक र चालकको लापरबाहीले हुने गरेका छन् । ‘सवारीधनीले दुई चालक नराख्नु, चालकले मनोमानी गरी सवारी चलाउनु र लेन अनुशासनको उल्लंघन तथा क्षमताभन्दा बढी यात्रु चढाउनु नै दुर्घटनाका प्रमुख कारण हुन्,’ प्रवक्ता डीआईजी न्यौपानेले भने ।

यात्रु प्रत्यक्षदर्शी दुर्घटनाको दोष चालकलाई दिन्छन् । सडकको दूरवस्थाले गर्दा पनि दुर्घटना हुने गरेको छ । चालकले मदिरा सेवन गरेर गाडी चलाउने, निदाउने र सडक साँघुरो भएकाले दुर्घटना हुने गरेका छन् । यहाँ चल्ने गाडीबीच ‘ओभरटेक’ गर्न प्रतिस्पर्धा चल्छ । तलमाथि भयो भने त्रिशूलीमा खस्छ । यो खण्डमा पुगेपछि आँखा चिम्लिएर यात्रा पूरा गर्ने धेरै भेटिन्छन् । प्रहरीको १० वर्षको दुर्घटना तथ्यांकले यस्तो अवस्था भयावह देखाएका छ । २०६३ यता चितवनको नारायणगढदेखि धादिङको सीमा मौवाखोलासम्म भएका दुर्घटनामा ३३५ जनाले ज्यान गुमाइसकेका छन् ।

Promise Education Consultancy