फोहोर गर्नेलाई कारबाही,महानगरपालिकाको फोहोरबाटै ७३ किलोवाटको विद्युत् उत्पादन गर्न सकिने

तुलमान गुरूङ
भरतपुर १४ मंसिर ।  जथाभावी फोहोर फालेको भन्दै भरतपुर महानगरपालिकाले बुधबार दुई जनालाई कारबाही गरेको छ ।
चितवनलाई सरसफाइयुक्त हरियाली जिल्लाको विकास गर्ने योजनासहित अगाडि बढिरहेको भरतपुर महानगरपालिकाले जथाभावी फोहोर फाल्नेलाई अन द स्पट कारबाही गर्दै आएको छ । सोहीअनुरूप भरतपुर महानगरपालिकाले बुधबार पनि भरतपुरका दुई जनालाई कारबाही गरेर छाडिएको जनाएको छ ।
कानुनअनुसार जथाभावी फोहोर गर्नेले फोहोरको प्रकृतिअनुसार अधिकतम ५० हजार रूपैयाँसम्म जरिवाना तिर्नुुपर्ने प्रावधान छ । पहिलो पटक थाह पाइएकोले जरिबानास्वरूप न्युनतम शुल्क तिराएर छाडिएको भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले बताए । साथै उनीहरूलाई अबदेखि कहिल्यै पनि सार्वजनिक स्थानमा फोहोर नगर्नसमेत चेतावनी दिइएको उनको भनाइ छ । सार्वजनिक स्थानमा फोहोर गर्ने जो कोहीलाई पनि कारबाही गरिने उनले बताए । कसैले फोहोर गरेको देखेमा वा थाह पाएमा भरतपुर महानगरपालिकाको कार्यालयमा सम्पर्क गरेर सहयोग गर्न समेत उनले आग्रह गरे ।
गत सोमबार वे ग्रुप, नेपाल मैत्री समाज, नेपाली सेनालगायतका वातावरण तथा सरसफाइसम्बन्धी विभिन्न समूहले भरतपुरको चौबीसकोठीदेखि त्रिचोकसम्मको क्षेत्रमा सरसफाइ गरेका थिए । तर, सोमबार मात्रै तीन ट्याक्टर फोहोर फालेर सरसफाइ गरिएको सोही क्षेत्रमा मंगलबार फोहोरको फालेका व्यक्तिहरूलाई कारबाही गरिएको हो । सरसफाइ समूहका वीरेन्द्र पौडेल, नवीन खरेल, टेकलाल भुसाल, शिवप्रसाद घिमिरे, ध्रुब सापकोटालगायतको टोलीले फोहोर फालेको थाह पाएपछि फोहोरसँगै भेटिएका विभिन्न कागजातको आधारमा फोहोर फाल्ने व्यक्तिको पहिचान गरी भरतपुर महानगरपालिकामा सप्रमाण खबर गरेपछि महानगरपालिकाले उनीहरूलाई कार्यालयमै उपस्थिति गराएर जनही दुई हजार पाँचसय रूपैयाँको दरले जरिवाना तिराएर छाडिएको हो ।
साथै उनीहरूलाई महानगरपालिकाको कार्यालयमै अबदेखि यस्तो गल्ती दोहो¥याउने छैन भनेर सपथसमेत खुवाइएको छ । फोहोर फाल्ने व्यक्तिहरूले पनि गल्ती स्वीकार गर्दै अबका दिनमा यस्ता कार्य नगर्ने प्रतिबद्धता जनाएका छन् । नेपालसहित विश्वका १५० देशले आगामी १५ सेप्टेम्बर २०१८ मा विश्व सरसफाइ दिवस (वल्र्ड क्लिन अप डे) मनाउँदैछन् । सोही अनुरूप चितवनमा पनि विभिन्न समूह मिलेर समग्र जिल्लालाई नै पूर्णरूपमा सरसफाइयुक्त नमूना जिल्लाको रूपमा विकास गर्न सक्रिय बनेका छन् । समूहले पूर्णरूपमा स्वतस्फूर्त तरिकाले हरेक हप्ताको एक घण्टा बजार क्षेत्रमा सरसफाइ गर्दै आइरहेको छ ।आजको चितवनपोष्टमा खबर छ ।
‘फोहोरबाटै ७३ किलोवाटको विद्युत्’
चितवनमा साविकको भरतपुर उपमहानगरपालिका भित्रबाट मात्रै हरेक दिन ४५ टनभन्दा बढी फोहोर संकलन हुँदै आएको छ । विभिन्न क्षेत्रबाट निस्किएका फोहोर संकलन गरेर कुहिने फोहोरबाट मात्रै ७३ किलोवाट विद्युत् अथवा हरेक दिन ३८ हजार सिलिण्डर ग्याँस उत्पादन गर्न सकिने भरतपुर महानगरपालिकाले जनाएको छ । अझ महानगर भइसकेपछि फोहोर पनि धेरै संकलन हुने भएकोले उत्पादन क्षमता बढ्ने भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले बताए । साथै नकुहिने प्लास्टिकजन्य फोहोरबाट पनि इन्धन उत्पादन गर्न सकिने उनले बताए । त्यसो त केही दिनअघि मात्रै भरतपुर महानगरपालिका परिसरमै प्लास्टिकजन्य फोहोरबाट पेट्रोल निकालिएको थियो ।
यसको लागि करिब २५ करोड रूपैयाँ लगानी लाग्ने अनुमान गरिएको छ । जसको लागि वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले यसबारे अध्ययन गरिरहेको छ । २५ करोड रूपैयाँमध्ये केन्द्रले ४० प्रतिशत अर्थात् १० करोड रूपैयाँ अनुदान दिने र बाँकी रकम निजी क्षेत्र अथवा सम्बन्धित सरकारी निकायले लगानी गर्ने विषयमा पनि छलफल भइरहेको भरतपुर महानगरपालिकाले जनाएको छ । ‘वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले नगरबाट उत्पादन हुने (कुहिने) फोहोरबाट विद्युत् वा ग्याँस के उत्पादन गर्ने भन्ने विषयमा अध्ययन गरिरहेको छ,’ भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जोशीले भने । त्यसैले जोकसैले सार्वजनिक स्थानमा फोहोर नफाल्न उनले आग्रह गरे । महानगरपालिकाका सबै वडाबाट निस्कने फोहोर व्यवस्थापन गर्नको लागि महानगरपालिकाको कार्यालयले फोहोर व्यवस्थापन शाखा भनेर केही दिनअघि मात्रै छुट्टै शाखा सञ्चालन गरेको उनले बताए ।