मत बदर हुन नदिन रत्ननगरमा नमुना मतदान

चितवन १३ मंसिर । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मत बदर हुन नदिन रत्ननगरका टोल टोलमा नमुना मतदान गराईएको छ । बाम गठबन्धन वडा परिचालन कमिटी वडा नं.३ ले वडाका विभिन्न क्षेत्रमा नमुना मतदान गराएको हो ।

मत हाल्ने तरिका र मत हालिसकेपछि मतपत्र पट्याउने तरिका सिकाईएको परिचालन कमिटीका संयोजक मिना गिरीले जानकारी दिईन । मंसिर २१ गते हुने निर्वाचनमा तीन वटा मत पत्रमा चार वटा भोट हाल्नु पर्दछ ।

प्रत्यक्ष तर्फ प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारलाई दुई छुट्टा छुट्टै भोट हाल्नु पर्छ । समानुपातिक तर्फ एउटै मत पत्रमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको भोट हाल्ने व्यवस्था निर्वाचन आयोगले गरेको छ ।

नमुना मतदानका क्रममा प्रत्यक्षमा जनताले सजिलै भोट हालेको भएपनि समानुपातिकमा भने झुक्किने गरेको वडा नं.३ का प्रचार प्रसार समितिका संयोजक इश्वरी प्रसाद अर्यालले बताए ।

समानुपातिकमा एउटै मत पत्रमा प्रतिनिधि सभा र प्रदेश सभाको भोट हाल्दा मतदाता झुक्किएर मत बदर हुने सम्भावना देखिएको उनले बताए । नमुना मतदानमा समेत केही मतहरु बदर भएको उनले बताए । स्थानीय मतदाता ज्ञानु गिरीले प्रत्यक्ष तर्फ भोट हाल्न सजिलो भएपनि समानुपातिमा भने आफु झुक्किएको बताईन ।

तीन वटा मत पत्रमा भोट हाल्नु पर्ने रहेछ उनले भनिन समय पनि धेरै लाग्ने,झन्झटिलो पनि रहेछ । वडा परिचालन कमिटीले विगत चार दिन देखि वडाका गणेश टोल,सरस्वती टोल,शान्ति गणेश टोल,सिद्देश्वरी टोल,दिपज्योति टोल र नमुना टोलमा नमुना मतदान गराईएको परिचालन कमिटीका सदस्य कृष्ण अधिकारीले जानकारी दिए ।

चार दिन सम्म वडाका करिब ५ सय जना नमुना मतदानमा सहभागी भएको उनले जानकारी दिए । नमुना मतदानका लागि कृष्ण प्रसाद नेपाल,गीता सिंखडा सहितका नेताहरुको सहभगीता रहेको छ ।