ठोरी केरुङ सडक बनाउँदा माडी छुटाउनुहुदैन : मन्त्री पाण्डे

चितवन, १३ मंसीर । वन तथा भूसंरक्षण मन्त्री विक्रम पाण्डेले प्रस्तावित ठोरी–केरुङ मार्ग माडी क्षेत्र समेटेर निर्माण गराउन पहल गरिने दावी गरेका छन् । माडीमा लोकतान्त्रिक गठबन्धनले आयोजना गरेको चुनावी घरदैलो कार्यक्रममा सहभागि भएका पाण्डेले ठोरीबाट भण्डारा जोड्ने गरी सडक विस्तार भएमा माडी विकासमा पछि पर्ने बताएका छन् ।
“गोविन्दवस्तीबाट सोझै भण्डारा जोड्ने गरी सडक निर्माण गर्ने चलखेल बढेको छ”, उनले भने, “हुलाकी मार्ग वा रिउ किनारको निकुञ्जको बाटो हुँदै लैजानुपर्छ, त्यसका लागि पहल गर्नेछु ।” उनले माडी–जगतपुर–भरतपुर हुँदै सडक विस्तार गर्नुपर्ने बताए । उनले चीन र भारतको व्यापारिक नाका जोड्ने मार्गका रुपमा रहेको ठोरी केरुङ सडकले माडीभुभागलाई समेट्नुपर्नेमा जोड दिए । लोकतान्त्रिक गठबन्धन चितवन क्षेत्र नम्बर ३ को साझा प्रतिवद्धतापत्रमा समेत ठोरी केरुङ सडक निर्माण गर्दा माडीका साविक गाविसलाई समेटेर विकास गरिने उल्लेख छ । विगतमा ठोरी चितवन मात्रै भनेर विजेट विनियोजन भएकोमा यसपालिको बजेटमा केहि उल्लेख नभएपछि अन्यौलता थप बढेको छ । कांग्रेस र राप्रपा (प्रजातान्त्रिक) ले सो मार्गमा माडीलाई समेट्न केन्द्रीयस्तरमा दबाब दिने बताए । पाण्डे चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् । ठोरी भण्डारा जोड्ने सडक छोटो पर्ने भएपनि निकुञ्जभित्रको कमजोर भूभाग, जंगली जनावरको बढी चाप भएको क्षेत्र पर्ने भएकाले त्यो उपयुक्त नहुने बताए । २०७३÷७४ का लागि सार्वजनिक गरिएको बजेटमा ठोरी केरुङ (चितवन रसुवा) सडकका रुपमा उल्लेख गर्दै बजेट विनियोजन भएको थियो ।
उनले चितवन राष्ट्रिय निकुञ्जलाई माडीको बरदानको सम्पदा बनाउने गरी गरी पूर्वाधार विकासम ध्यान दिइने बताए । “निकुञ्जबाट जनावर बस्ती प्रवेश गर्ने माडीको मुख्य समस्या हो”, उनले भने, “निकुञ्ज किनारमा मेस जाली राखिनेछ, रिउ किनारमा बृहत तटबन्धनको योजना कार्यान्वयनमा ल्याइने छ, पर्यटकीय मार्गका रुपमा विकास गरिनेछ ।” मन्त्री पाण्डे भूमिसुधार तथा व्यवस्था मन्त्री भएका बेला माडीमा मालपोत तथा नापी कार्यालय स्थापना भएका थिए । वन तथा भूसंरक्षण मन्त्रीका रुपमा रहेका पाण्डेले निकुञ्जभित्र सवारी कर लाग्ने व्यवस्था हटाएका छन् भने निकुञ्जभित्रको सडकमा अवरोध पु¥याएका रुख हटाएर बाटो फराकिलो पार्ने काम गरेका थिए । माडीलाई पर्यटकीय नगरीका रुपमा विकास गरिने बताए । अबको ५ वर्षे कार्याकालमा माडीका सबै सडकलाई कालोपत्रे गर्ने काम पुरा गर्ने दावी गरे । माडी चक्रपथ निर्माणको अधुरो योजनालाई पुरा गरि छाड्ने दाबी गरे । पाण्डे साविक क्षेत्र नम्बर ५ क्षेत्रबाट दोस्रो संविधानसभा चुनावमा विजयी बनेका थिए । उनको माडी ०५६ सालदेखि चुनाव लड्दै आइरहेको क्षेत्र पनि हो । लोकतान्त्रिक गठबन्धनले बुधबार माडीका विभिन्न वडाहरुमा चुनावी घरदैलो गरेको छ ।