त्रिशूलीमा खसेको बस गोताखोरले २५ फिट गहिराइमा फेला पारे

 

चितवन,  मंसिर १३ । त्रिशूलीमा खसेर बेपत्ता भएको बस भेट्टिएको छ । गोताखोरहरूको टोलीले यो बसलार्इ त्रिशूलीको २५ फिट गहिराइमा फेला परेका हुन् ।

राजधानीबाट अर्घाखाँचीर्फत गइरहेको बस त्रिशूली खस्दा मृत्यु हुनेको संख्या पनि सात पुगेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक शिव शर्माले जानकारी दिएका छन्। यो दुर्घटनामा घाइतेको संख्या पनि २५ पुगेको छ ।

बस घटनास्थलमै नदीको करिब २५ मिटर गहिराइमा फेला परेको गोताखोरलाई उद्धृत गर्दै शर्माले बताएका छन् । प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यकाअनुसार मृतकमध्ये एकजनाको मात्रै सनाखत हुन सकेको छ।

घाइतेमध्ये दुई जनालाई हेलिकप्टरबाट र सात जनालाई एम्बुलेन्समा काठमाडौँ पठाइएको छ । बाँकी १६ जनालाई भरतपुरतर्फ ल्याइएको छ । पुरानो मेडिकल कलेजमा नौ जनाको उपचार भइरहेको छ भने बाँकी घाइतेलाई भरतपुरतर्फ ल्याइँदै छ ।

काठमाडौँबाट अर्घाखाँची जान आउँदै गरेको बस इच्छाकामना गाउँपालिका-३ चुम्लिङटारमा बिहान दुर्घटना भएको हो । प्रहरीका अनुसार लु २ ख २९१ नम्बरको उक्त बस त्रिशूलीमा खसेको हो ।

काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ४९७२ नम्बरको ट्रकमा ठोक्किएर अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको हो । ट्रकका चालक र सहचालक पनि सामान्य घाइते भएको प्रहरी नायब उपरीक्षक शर्माले बताए ।

ट्रकको अघिल्लो भाग कुच्चिएको छ । सडक सामान्य घुमाउरो भएको उनले जानकारी दिएका छन् । बस नदीबाट झिक्ने प्रयास थालिएको छ ।

दुर्घटनास्थल मुग्लिनबाट १३ किलोमिटर काठमाडौँतर्फ पर्दछ । घटना बिहान ९:१५ बजे भएको हो । सो बस काठमाडौँबाट बिहान ५:४० बजे हिँडेको प्रहरीले जनाएको छ ।

बसले काठमाडौँको काउन्टरबाट २८ जना यात्रुको चलानी लिएको देखिन्छ भने दुईजना बीच बाटोबाट चढाएको घाइतेहरुले बताएका छन् । चालक र सहचालक गरी बसमा ३२ जना थिए । शर्माले बाटोमा यात्रु थपेको नथपेको एकिन हुन नसकेको भन्दै नदीमा बेपत्ता हुनसक्ने आशंकामा खोजी कार्य जारी राखिएको बताए ।

‘एक दुई जना बेपत्ता भएको हुनसक्ने अनुमानमा खोजी कार्यलाई जारी राखेका छौं’, शर्माले भने । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले घटनालगत्तैबाट उद्धारलाई जारी राखेका छन् ।