चुनावी दौड :प्रचण्डको एक दिन

चितवन, १३ मंसिर । माओवादी केन्द्रका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्यका लागि चितवन ३ का उम्मेदवार पुष्पकमल दाहाल प्रचण्ड अहिले निर्वाचन प्रचारप्रसारमा व्यस्त छन् । पुत्रवियोगको पीडासँगै निर्वाचनमा होमिएका दाहाललाई कान्तिपुरले सोमबार दिनभर पछ्यायो । निर्वाचन अभियानमा आइतबार साँझ माडी पुगेर बास बसेका उनी सोमबार बिहानैदेखि साँझसम्म चुनावी भेटघाट र सभामा हतारहतार दौडिरहे । उनको दैनिकी बिहान पौने ६ बजे सुरु भएको थियो ।

बिहानै उनी ‘मर्निङ वाक’ मा निस्किए । स्थानीय नेताहरूको सल्लाहअनुसार कालो चिया पिउँदै मतदाता भेट्ने गरी उनको मर्निङ वाक सुरु भएको थियो ।

दाहाल वसन्तपुर हँुदै इनारबरुवासम्म हिँडे । मर्निङ वाकका क्रममा स्थानीयसँग चिया पिए र विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्र प्रवेश गर्नेलाई स्वागत गर्न पनि भ्याए ।

आइतबार बेलुका ८ बजेसम्म चुनावी कार्यक्रममा व्यस्त रहेका दाहाल माडीवासीसँंग सम्बन्ध सुधार्न तेस्रो पटक त्यहाँ

पुगेका थिए । मतदातासँग नजिकिन त्यहीं बास बसेका थिए, माडी ५ स्थित दिवाकर बालग्राममा । माओवादीले २०६२

जेठमा माडीको बाँदरमुढेमा बस एम्बुसमा पार्दा ४२ को मृत्यु भएको थियो । त्यसयता माडीवासी दाहालसँग त्यति खुसी छैनन् । त्यसको प्रभाव मतपरिणाममा नपरोस् भन्ने ध्याउन्नमा दाहाल देखिन्थे ।

उनले बिहानको खाना बालग्राममै खाए र सामूहिक तस्बिर खिचाए । अनि प्रचारप्रसारमा निस्किए । उनी इनरबरुवा, कल्याणपुर हुँदै स्याउलीबास पुगे । त्यहाँ पुग्दा बिहानको साढे ९ बजेको थियो ।

स्याउलीबासमा सभा राखिएको थियो । ना२ख ३१६५ नम्बरको ट्रकमा स्टेज बनाएर । दाहाललाई स्वागत गर्न वृद्ध र महिलाको भीड जम्मा भइसकेको थियो । युवा भने कम देखिए । मतदाताको साझा माग थियो– खानेपानी, सिँचाइ, वन्यजन्तुको आक्रमणबाट सुरक्षा र लालपुर्जा । दाहाल जहाँ पुग्थे, अगुवाले यिनै समस्या दोहोर्‍याएर सुनाउँंथे । उनी ती सबै समस्या अब बन्ने सरकारले समाधान गर्ने आश्वासन दिन्थे ।

गाडीको हुटमा मास्क लगाएर बसेका दाहाल मतदातालाई हात हल्लाउन व्यस्त देखिन्थे भने पत्नी सीता त्यही गाडीभित्र थिइन् । छोरा प्रकाशको हृदयाघातबाट मृत्यु भएपछि दाहाल परिवारमा शोक छ । ‘शोकलाई शक्तिमा बदल्ने’ भन्दै सपरिवार निर्वाचनमा होमिएको छ । बेलाबेला दाहाल गाडीबाट बाहिर निस्कन्थे, सीता महिला प्रहरीको सहयोगमा गाडीभित्रै रहन्थिन् ।

टोली लक्ष्मीबास मझुवा हुँदै ढुकुरबारी पुग्यो । त्यहाँ पुगेर दाहालले जनप्रतिनिधिका कुरा सुने । वडा नम्बर ५ का वडा अध्यक्ष रामबन्धु पोखरेलले सबैभन्दा ठूलो समस्या ठाडा खोलाहरूको रहेको बताए । ‘खानेपानीको पनि उस्तै समस्या छ,’ उनले दाहालसमक्ष सुनाए, ‘यो ढुकुरबारीमा तीन पुस्तादेखि बस्नेहरूले अहिलेसम्म लालपुर्जा पाएका छैनन् । यसको दिगो समाधान गराउन माग गर्छौं ।’

दाहालले चुनावी कार्यक्रममा अब वामपन्थी सरकार बन्ने ठोकुवा गरे । ‘बहुमतसहितको वाम गठन्धनको सरकार बन्छ, पहिलो क्याबिनेट बैठकबाटै सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने निर्णय हुनेछ,’ उनले आश्वासन दिए, ‘माडीमा गाउँ तल छ, खोला धेरै माथि छ, मैले यसलाई गम्भीर रूपमा लिएको छु, दिगो समाधानमा लागिपर्नेछु ।’ माडीलाई ‘मणि’ बनाउन सकिने आश्वासन दिन पनि उनी चुकेनन् ।

यतिबेलासम्म दिउँसोको १ बजिसकेको थियो । खानाको व्यवस्था माडी राधापुरस्थित परमानन्द तिवारीको घरमा गरिएको थियो । खाना खाने ठाउँमै वृद्धवृद्धा उनलाई स्वागत गर्न हातमा फूल लिएर कुरिरहेका थिए । दाहाल र उनीसँगै हिँडेका कार्यकर्ताले त्यहीं खाना खाए । छोरीहरू रेणु र गंगा त्यहीं आइपुगे । दुवैले चुनावी दौडधुपबारे दाहालसँग बातचित गरे । उनले सुरुमै नातिनीलाई खोजे । नातिनी र सीतालाई साथमा राखेर थोरै रोटी खाए ।

‘यस्तो विकट ठाउंँमा रहेको हाम्रो घरमा अध्यक्ष आएर खाना खांँदा साह्रै खुसी लागेको छ,’ तिवारीले सम्झिए, ‘पहिला ०५१ सालमा पार्टी एकता महाधिवेशनका क्रममा दिवाकर भुसालसहित आएर मेरै घरमा छलफल गर्नुभएको थियो, तर खाना भने खानुभएको थिएन ।’ दाहाल टोलीका लागि तिवारीपत्नी कुमारीदेवीले खाना बनाएकी थिइन् । दाहाललाई चुनावी प्रचारप्रसार भ्याउने हतारो थियो । ठाउँठाउँमा कार्यकर्ता उनको प्रतीक्षामा थिए । आधा घण्टाभित्र खानपिन सकेर टोली अघि बढ्यो ।

दाहालको स्वागतमा ठाउँठाउँमा घडा राखिएको थियो । दिउंँसोको २ बजिसकेको थियो । त्यहाँबाट सिमारा हँुदै बाँंदरमुडे निस्किएर बघौडा पुगे । अघिपछि करिब २ दर्जन सवारीसाधनको ताँती थियो । त्यहाँंबाट एकतास्तम्भ हुँदै माडी २ चिरौली पुग्दा साँझको साढे ५ बजे बज्यो । सोमबारको प्रचारप्रसार चिरौलीमै बिट मारियो ।

दाहालले हरेक सभामा छोरा प्रकाशलाई सम्झिरहे । ‘एउटै मात्र छोरो प्रकाशको अवसान भयो, अकल्पनीय पीडा हुँदै हो,’ भावुक हुँदै उनले मतदातासामु भने, ‘आर्यघाटमा दागबत्ती दिँदै गर्दा जनतातिर फर्किएर मैले भनेको छु, अब तपार्इंहरू सबै मेरा छोरा हुनुहुन्छ, म अभिभावक, अब प्रत्येक घरमा प्रकाश ल्याउन चाहन्छु । बाँकी जीवन सम्पूर्ण रूपले विकासका लागि समर्पित गर्नेछु । योभन्दा मेरा लागि अब अरू कुनै सपना छैन ।’

मन्तव्यका क्रममा उनले विकासको मोडल चितवनबाट तयार पार्ने सुनाए । ‘समृद्ध चितवन बनाउने हो, एसियाली मापदण्डको सहरको रूपमा सिंगो जिल्लालाई विकास गर्न सकिन्छ,’ उनले मतदातासामु भने, ‘माडी र बाँकी चितवन जोड्नका लागि सुरुङमार्ग वा आकाशेपुललाई विकल्पका रूपमा अघि सारेका छौं, निकुञ्ज हाम्रा लागि बरदान मात्र होस्, अभिशाप बन्न नजाओस् भन्ने हो ।’

दाहाललाई एकदिन पछ्याउँदा उनले मतदातासमक्ष दर्जनौं आश्वासन दिएको भेटियो । के ती आश्वासन पूरा गर्न सकिएला ? कान्तिपुरको प्रश्नमा उनले भने, ‘चीन र भारतलाई जोड्ने बाटो केरुङबाट यही माडी हुँदै ठोरीसम्म जाँदा नेपालको सबैभन्दा छोटो बाटो हुनेछ । जुन आर्थिक क्रान्ति ल्याउने बाटो बन्न सक्छ ।’ उनले लालपुर्जा वितरण गर्न मिल्ने ठाउँको वैकल्पिक व्यवस्था गरेर स्थानान्तरण गरिने बताए । ‘यी आश्वासन मात्र होइन, म दृढ इच्छाशक्तिसहित गृहजिल्ला आएको छु,’ उनले भने, ‘वामपन्थीको नेतृत्वमा बलियो र स्थायी सरकार बन्नेछ, त्यसपछि देशले विकासको मुहार फेर्दै जानेछ ।’

मतदाता रिझाउँदै पाण्डे

लोकतान्त्रिक गठबन्धनबाट चितवन ३ का उम्मेदवार राप्रपा (प्रजातान्त्रिक) का केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डे अघिपछि जस्तै सोमबार पनि चुनावी प्रचारप्रसारमा व्यस्त रहे । वन तथा भूसंरक्षणमन्त्रीसमेत रहेका पाण्डे ८ र ९ वडाको घरदैलोमा सक्रिय भए । बिहान ७ देखि साँझ ६ बजेसम्म उनी मत माग्न घरदैलोमा व्यस्त बने ।

८ नम्बर वडाका अशोक चोक, घुम्ती चोक, सल्लेरी चौतारो, ९ नम्बर वडाका शरदपुर, वडा कार्यालय चोक, वनदेवी चोक, संगम चोक र दराई टोलमा घरदैलो गरे । पाण्डेलाई मतदाताले चुनावपछि पनि घरदैलोमा आउन आग्रह गरे । त्यस्तै, सुकुम्बासी समस्या समाधान, सडक राम्रो बनाइदिन माग गरे । माडी पुग्दा पाण्डेसँग मतदाताले वन्यजन्तु बस्ती छिर्ने त्रास र बाढीले उठिबास लागेका समस्या सुनाउँदै दिगो समाधान मागे ।

खानेपानी, सुकुम्बासी समस्या, विकासलगायत माग उनीसमक्ष राखिए । माडी, मेघौली, जगतपुरलगायत क्षेत्रका मतदाताको मुख्य माग भने वन्यजन्तुबाट ज्यान र बाली जोगाइदिनुपर्ने छ । आजको कान्तिपुर दैनिकमा खबर छ।

 

Promise Education Consultancy