चार दिन प्रचण्डलाई पछ्याउँदा…

राजेश भण्डारी 
चितवन,मंसिर १३ । एकमात्र छोरा प्रकाशलाई दैवले चुँडेर लगेपछि धेरैले सोचेकै थिएनन्, प्रचण्ड यत्तिछिट्टै चुनावी मैदानमा देखापर्ने छन् । तर, पुत्र बियोगको तेस्रो दिनमै चितवनको भरतपुरमा आयोजित चुनावी सभामा देखिए, बोल्न सकेनन् !
मिति : २०७४ मंसिर ८ गते
समय : मध्यान्ह १२ बजे
स्थान : भरतपुर विमानस्थल 

प्रकाशको देहावसान भएको छैटौँ दिन भरतपुर विमानस्थलमा प्रचण्ड सवार यति एयरलाईन्सको विमान ल्याण्ड भयो । पत्नी सीता, नाती प्रसिद्ध, दुई छोरी–ज्वाईका साथ भरतपुर विमानस्थल उत्रिएका प्रचण्ड भिआईपी कक्षमा प्रवेश गर्नासाथ माओवादी नेता नारायण दाहालले खुसुक्क भने, ‘पार्वतिपुरमा कार्यक्रम राखिएको छ ।’ प्रचण्डले नाईंनास्ति गरेनन्, शिवनगरस्थित निवासमा केहीबेर आराम गरेपछि उनको कार्गेड पार्वतिपुर हानियो ।

‘प्रचण्डले भाषण गर्न त सक्छन् ?’ धेरैले यहि सोचेका थिए, तर युवा जमातले खचाखच भरिएको सामुदायिक भवनमा आयोजित युथ फोर्स र वाईसियलको भेलामा प्रचण्डले दमदार भाषण गर्दै भने, ‘तपाईहरुको अनुहार त्यति उज्यालो छैन, एउटा योद्धामा विजेताको जस्तो चमक चाहिन्छ !’

प्रचण्डले यसो भन्दै गर्दा पत्नी सीता मञ्चमा अर्धमुर्छित अवस्थामा जसोतसो टिकिरहेकी थिइन्, आँखामा आँशु टिल्पिलाइरहेको थियो !

परिवारमा बज्रपात परेको पीडा छँदै थियो, पिडालाई पैतालामुनी राखेर मत माग्न हिँडेका माओवादी अध्यक्ष प्रचण्डले साँझसम्म तीनओटा सभालाई सम्बोधन मात्रै गरेनन्, बेलुका अबेर काङ्ग्रेसका पुराना नेता चन्द्रध्वज गुरुङलाई उनको घरमै गएर फकाए ।

अमिक शेरचनको भान्छा ! 

मंसिर ९ गते शनिबार प्रचण्ड भरतपुर महानगरपालिका स्थित पश्चिम चितवन तिर भोट माग्न निस्किए । उनी फोर्ड कम्पनिको पिकअप भ्यानको हुटमा उभिएका थिए । मेडिकल माक्र्स लगाएर धुस्रे–फुस्रे हुँदै बस्ति–बस्तिमा जम्मा भएका स्थानियलाई हात हल्लाएर अभिवादन गर्दै अगाडी बढे ।

पश्चिम चितवनको भित्री बस्तीका केही किलोमिटर बाहेक अधिकांश सड्क कच्ची थिए, त्यस्तोमा उनका अघिपछि करिब १५–२० ओटा सवारी साधन थिए । धुलो उडाउँदै भरतपुर–२६ स्थित ज्योतिनगर पुग्दा मध्यान्हको करिब १२ बजिसकेको थियो । प्रचण्ड–बिजयी अभियान टोली एउटा घरमा पुग्यो, त्यो माओवादी नेता अमिक शेरचनको घर हो ।

प्रचण्डलाई माओवादी नेता अमिक आफैंले खाना सर्भ गरे । सीता साथमै थिईन्, छोराको चिन्ताले गलेकी सीताका लागी गाडी चढ्न र ओराल्न पनि सहयोगी चाहिन्छ !

शनिबार दिउँसो शारदानगर र रामपुरमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गरेका प्रचण्डले समाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) बढाएर पाँच हजार बनाउने आश्वासन दिए । रामपुरमा ‘विकास सपना’ को पोको फुकाउँदै उनले चितवनको माडी र भरतपुर जोड्नका लागी सुरुङमार्ग अथवा आकाशे पुल बनाउने उल्लेख गर्दै भने, ‘चितवनका ग्राभेल सड्क सवै पिच गर्छौँ !’

पश्चिम चितवनमा भोट माग्न जाँदा उनलाई नाती प्रशिद्ध दाहालले पनि साथ दिए । अर्धमुर्छित अवस्थामै भएपनि सीताले प्रचण्डलाई छाडिनन् । केहीबेर मञ्चमा बसेपछि सीता भक्कानिन्थिन्, त्यसपछि उनलाई सहयोगीहरुले बाहिर ल्याएर गाडीमा राख्थे । प्रचण्ड रामपुरका स्थानियलाई सम्बोधन गर्दै थिए, सीता बाहिर गाडीमा पनि बस्न सकिनन्, नाती प्रशिद्ध र छोरी गंगा दाहाललाई साथै लिएर उनी शिवनगर फर्किँदा साँझ परिसकेको थियो । तर, प्रचण्ड ड्युटी भने सकिएको थिएन्, उनी रामपुरमै रहेको खुसीराम पाख्रिनको घरतिर हानिए ।

मंसिर ५ गते चितवनमा आयोजित बाम गठबन्धनको चुनावी सभामा प्रचण्ड पुत्र प्रकाशको सम्झनामा गीत गाउँदा–गाउँदै हृदयघातका कारण पाख्रिनको निधन भएको थियो । प्रचण्ड पुगेपछि खुसिराम पत्नी शुकमाया रुन थालिन्, त्यस्तोमा प्रचण्डले भने, ‘रोएर हुँदैन्, सम्हालिनुपर्छ तपाईको साथमा हामी छौं, सिंगो पार्टी छ ।’
प्रचण्डले खुसीरामलाई श्रद्धाञ्जली ब्यक्त गर्दै गर्दा छोरी रेणु दाहालको फोन बज्यो, त्यो कल सीता दाहालको थियो । सीताले के सोधिन कुन्नी ? रेणु फोनमा भन्दै थिइन्, ‘ममी, अहिले हामी खुसीराम पाख्रिनको घरमा छौं, यहाँबाट भरतपुरमा मिटिङ छ त्यो सकेपछि बल्ल आउँछौं ।’

पाख्रिनको घरबाट प्रचण्ड भरतपुर महानगरपालिकाको मेयरसमेत रहेकी रेणु दाहालको निवासमा पुग्दा निर्वाचन परिचालन समितिका सदस्यहरु जम्मा भैसकेका थिए । लामो बैठकपछि स्थानिय एक टेलिभिजनको स्टुडीयोमा गएर विज्ञापन सामग्री रेकर्ड गराएका प्रचण्ड शिवनगर फर्किदा रातको दश बजिसकेको थियो !

बाँदरमुढे देखि बाँदरझुलासम्म 

रातोपाटीले तेस्रो दिन पछ्याउँदा प्रचण्ड झिसमिसेमै चितवनको बाँदरमुढेतर्फ मुभ भए । कुरा आईतबारको हो, शिवनगरबाट विहान ५ बज्दा नबज्दै अघिपछि सुरक्षाकर्मीको साथमा बाँदरझुलातर्फ हिँडेका प्रचण्ड बाटोमा पर्ने बाँदरमुढेमा रोकिए ।

बाँदरमुढे त्यहि ठाउँ हो, जहाँ २०६२ जेठ २३ गतेको माओवादीको एम्बुसमा परस् ३८ जना सर्वसाधारणले ज्यान गुमाएका थिए । तत्कालिन युद्धरत पक्षको सुप्रिम कमाण्डर समेत रहेका प्रचण्डले पहिलोपटक त्यहाँ पुगेका थिए ।

भनिन्छ, ‘१२ बर्षपछि खोलो पनि फर्कन्छ ।’ ‘बाँदरमुढे हत्याकाण्डको नामले बहुचर्चित घट्नास्थलमा प्रचण्ड पुग्दा बिहानको करिब छ बजेको हुँदो हो, बाँदरमुढे स्मारक माथिको कुहिरो खुलिसकेको थिएन । यसअघि पनि बाँदरमुढेमा आफ्नो पार्टीको तर्फबाट गल्ती भएको स्विकार गरेका प्रचण्डले पहिलो पटक ‘बाँदरमुढे स्मारक’मा मैनबत्ति सल्काए, फुलमाला चढाउँदै माल्यार्पण गरेर भने, ‘बाँदरमुढे घट्ना सशस्त्र द्वन्द्वको क्रममा घटेको सबैभन्दा ठूलो भुलबस भएको गल्ती थियो !’

चितवन राष्ट्रिय निकुञ्जको उपड–खाबड बाटो क्रस गर्दै राष्ट्रिय निकुञ्जकै क्षेत्रमा रहेको सुकुम्बासी बस्ती ‘बाँदरझुला’ पुगेका प्रचण्डले त्यहाँको सुकुम्बासी बस्तिमा ओजनदार भाषण गरे । लाग्थ्यो, उनले अब पुत्रवियोगको पिडा बिर्सीसेकका छन् । त्यति ठुलो बज्रपात छिट्टै र सजिलै किन बिर्सिन्थे, बाँदरझुलाबाट बिदा हुने बेलामा भावुक हुँदै भने, ‘हरेक परिवारका युवा–युवती प्रकाश हुन्, उनीहरुको भविष्यको लागी काम गर्ने छु, उनीहरुकै लागी मर्ने छु !’

बाँदरझुलापछि माडीको गोविन्दबस्तीमा आयोजित चुनावी सभालाई संवोध गर्दै बसन्तपुर पुग्दा साँझ परिसकेको थियो । तर, प्रचण्ड सेड्युल बाँकी नै थियो ।

दिनभर आधा दर्जन बढी चुनावी सभाहरुलाई सम्बोधन गरेका प्रचण्ड साँझ माडीको बसन्तपुर स्थित ‘दिवाकर स्मृत्ति बालग्राम’मा बास बसे ।

‘म डिस्टब्र्ड छु’ भने, ‘विक्रम भाई बाटो छाडिदिनुस !’

पारिवारिक पिडा एकातिर छँदैछ, प्रचण्ड आजभोली अर्को कारणबाट पनि डिस्टब्र्ड छन् । २०७० सालको निर्वाचन जितेका राप्रपा (प्रजातान्त्रिक)का उपाध्यक्ष विक्रम पाण्डे उनीविरुद्ध चितवन–३ को चुनावी मैदानमा भिडिरहेका छन् । घरेलु मैदान भएपनि चितवन–३ प्रचण्डका लागी नयाँ छ ।

‘एउटा ठेकेदार जसले हाम्रै पार्टीका युवा साथीहरुलाई एक थान मोटरसाइकल र दुई–चार सय दिएर किन्न खोज्ने ?’ पार्टीको आन्तरिक भेलामा प्रचण्डले भने, ‘म डिस्टब्र्ड छु, हामीभित्र त्यस्ता दुई–चार सयमा बिक्नेहरु पनि छन्, भन्दा म डिस्टब्र्ड छु !’

पार्वतिपुरमा आयोजित पार्टीको आन्तरिक भेलामा ‘आफू डिस्टब्र्ड भएको’ बताएका प्रचण्डले माडी पुगेर खुल्ला सभा मार्फत प्रतिस्पर्धी पाण्डेलाई बाटो छोडिदिन आग्रह गरे ।

‘विक्रम भाई, तपाईलाई मेरो क्याविनेटको मन्त्री बनाउन धेरै मेहनत गरेको थिएँ त्यो कुरा तपाईलाई थाहा छ’ राप्रपा बाहुल्य क्षेत्र गोविन्दबस्तीमा उनले भने, ‘बाटो छाडिदिनुस्, मेरो लागी बाटो छोड्दा तपाईको हाईट घट्दैन, बरु बढ्छ !’

 

एकै दिन एकदर्जन कोणसभा !

चौंथो दिन अर्थात (मंसिर ११ गते) माओवादी अध्यक्ष्य प्रचण्ड विहानको ५ बजे उठे । कालो चियाको चुस्कीपछि मर्निङवाक मा निस्किएका उनले मर्निङवाक कै क्रममा केही राप्रपाका मान्छेलाई भेटे, सँगै चिया खाए ।

बाँदरमुढे नजिकै आफ्नो ससुराली खलक मध्येका माधव पौडेलको घरमा पसेका प्रचण्डले सामुहिक प्रयत्न भएमा माडीलाई मणि बनाउन सकिने बताए, त्यतिबेला बिहानको ८ बजेको थियो ।

माडी नगरपालिका–६ स्याउलिबासमा प्रचण्ड सभालाई हाँस्य कलाकार मनोज गजुरेलले साथ दिए । गजुरेलले प्रचण्डको पक्षमा भोट माग्दै कलात्मक शैलीमा भने, ‘कार्यकारी राष्ट्रपति बनाउनका लागी एक भोट दिनुस् !’

स्याउलीबास पछि लक्ष्मी निवास हुँदै प्रचण्ड ढुकुरबारी पुगे, जहाँ ०४६ सालपछि एकताकेन्द्रको एकता महाधिवेशन भएको थियो । जमानादेखिको कम्युनिष्ट किल्ला मानिने ढुकुरबारीका जनता अहिले पनि सुकुम्बासीको परिचय भिरेर बाँच्न बाध्य छन् । त्यहाँ प्रचण्डले उही प्रतिबद्धता दोहो¥याउँदै भने, ‘अब बन्ने सरकारको पहिलो क्याविनेटबाट निर्णय गराएर तपाईंहरुलाई निःशुल्क लालपुर्जा दिन्छु !’ गडगडाहट तालि बज्यो…

माडीको बघौडा, घोसरी, चिरौली लगायतका एक दर्जन सभामा सहभागी प्रचण्डले माडी उपत्यका भरी नदी नियन्त्रण र जंगली जनावरको आतंक रोक्दै माडी र भरतपुर जोड्ने सुरुङ्गमार्ग बनाईछाड्ने संकल्प गरेका छन् ।
चौथौं दिनको अन्ति सभा जुन चिरौलिमा आयोजना गरिएको थियो, साँझमा आयोजित सभालाई संवोध गर्दै प्रचण्डले भने, ‘मेरो बचपन, पढाई–लेखाई यहिँ भयो, धेरै साथी चितवनमै बनाएँ ।’

‘राजनितीको कखरा यहीँ सिकेँ, मलाई चितवनका जनताको ऋण छ’ उनले भने, ‘चितवनको विकासको लागि योगदान गरेर त्यही ऋण तिर्ने इच्छा छ !’

विहान सवैरै देखि चुनावी घरदैलोमा ब्यस्त हुने प्रचण्ड राती अबेरमात्र शिवनगर स्थित आफ्नो निवासमा पुग्छन्, त्यहाँ पनि भेट्नेको घुँइचो उत्तिकै देखिन्छ ।

सोमबार उनी चिरौलीबाट हिँड्दा रात परिसकेको थियो । घरमा भेटघाटका लागी कुर्नेहरुको घुँइचो हिजो अस्ती जस्तै, प्रचण्डलाई न थकाई न पीडा !

रातोपाटीबाट साभार

Promise Education Consultancy