चितवनका वाम गठबन्धनका उम्मेदवार भन्छन् टाउकोको मूल्य तोक्नेहरुसँग प्रतिष्पर्धा हुन सक्दैन

शिशिर सिंखडा
शक्तिखोर, चितवन, १२ मंसिर । संयुक्त वाम गठबन्धनका उम्मेदवार सहितको घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम आज शक्तिखोरका विभिन्न क्षेत्रमा गरिएको छ । प्रतिनिधि सभा चितवन क्षेत्र नं. २ का उम्मदेवार कृष्णभक्त पोख्रेल र प्रदेश सभाका उम्मेदवार घनश्याम दाहाल सहितका सयौं स्थानीय नेता तथा कार्यकर्ताहरु घरदैलो कार्यक्रममा सहभागी भएका थिए । कालिका नगरपालिकाको वडा नं. ७ स्याउली बजार, सगुनटोल, जुटपानी बजार, कालिका ८ को न्यूरेनी, देवीटार लगायतका क्षेत्रका मतदाताहरुसँग उम्मेदवारहरुले भेटघाट गरेका थिए ।
सोही क्रममा देवीटारमा आयोजित कोणसभालाई सम्बोधन गर्दै प्रतिनिधि सभा चितवन क्षेत्र नं. २ का उम्मेदवार कृष्णभक्त पोख्रेलले यसै शक्तिखोर क्षेत्रमा बन्ने औद्योगिक क्षेत्र छिटो भन्दा छिटो सम्पन्न गरी स्थानीय हजारौ युवाहरुलाई रोजगार उपलब्ध गराउने बताए । शक्तिखोर क्षेत्रमा व्यवसायिक तरकारी खेती र बाख्रापालनको सम्भावना रहेकोले यसको विकासको लागि उचित व्यवस्थापन गर्ने बताए । कयरखोला तटबन्धन, बाटो, सिंचाई लगायतका विकास निर्माण कार्यमा नगरपालिकासँग समन्वय गरी छिटो भन्दा छिटो कार्य सम्पन्न गर्ने समेत पोख्रेलले बताए । नगरपालिकाकै समन्वयमा यस क्षेत्रका पुर्जा विहिन एवम् भूमि विहिनहरुलाई व्यवस्थित गरिने समेत उनले बताए ।नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका पोख्रेलले वामपन्थीको बहुमतको सरकारको विकल्प नभएको भन्दै चितवनका ९ वटै उम्मेदवारहरु वाम गठबन्धनका विजयी हुनेमा निश्चिन्त रहन स्थानीयलाई अनुरोध गरेका थिए ।
कार्यक्रममा प्रदेश सभा “क” का उम्मेदवार घनश्याम दाहालले हिजो हामीलाई टाउकोको मूल्य तोक्नेहरुसँग वाम गठबन्धनको प्रतिष्पर्धा हुन नसक्ने भन्दै यस क्षेत्रको विकासको लागि वाम गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन अनुरोध गरेका थिए । “मेरा प्रतिष्पर्धी उम्मेदवारले भ्रमको खेती गर्दै आर्थिक प्रलोभन देखाई रहेका छन् । यस्ता प्रलोभनमा नलाग्नु होला । एकदिनको प्रलोभनले यस क्षेत्रको विकास हुन सक्दैन ।” उनले भने । पैसा बाडेर चुनाव जित्ने मनसाय राख्ने मेरा प्रतिष्पर्धीलाई जनताले वाम गठबन्धनलाई मतदान गरी विजयी गराईदिएपछि थाहा पाउने समेत बताए ।
कार्यक्रममा कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले स्थानीय तह, प्रदेश र केन्द्र सरकार वामपन्थीको हुनेमा ढुक्क रहन आग्रह गर्दै अब यस नगरपालिकाको हरेक विकास निर्माण नगरपालिका मार्फत् गएर स्थानीयको जीवनस्तर उकास्न आफु प्रतिवद्ध रहेको बताए । कार्यक्रममा निर्वाचन परिचालन कमिटीका संयोजक रामध्वज डल्लाकोटी, राजेन्द्र प्रसाद ढुंगाना लगायतले मन्तव्य व्यक्त गरेका थिए ।