स्थायीत्व, समृद्धि र समाजबादको मार्ग

विनोदखण्ड तिमिल्सेना
बिषय प्रवेशः नेपालका विभिन्न आन्दोलनमा शहीदहरुले बगाएको रगत, काँग्रेस, कम्युनिष्ट, माओवादी आदि नाममा संगठित भएका मानिसहरुले भोगेको जेलनेल, यातना, निर्वासन, दुःख, कष्ट र साधनाको प्रतिफलबाट प्राप्त उपलब्धिहरुको संस्थागत गर्नेकामको जस नेपालको संविधान २०७३ लाई जान्छ ।

समाजबादमा जानसक्ने बाटो समेत खुल्ला गर्न सफल संविधानको कार्यान्वयन आजको अहम महत्वको विषय हो । अधिकतम् सहभागिता सहित शक्ति सन्तुलनको दस्तावेजको रुपमा सम्पूर्ण आन्दोलनहरुको उपलब्धि संस्थागत गर्दै बनेको संबिधानको प्रावधानमा व्यवस्था भए अनुसार पनि समाजवादी समाज निर्माणको आधार तयार भएको छ । स्थायीत्व प्राप्ती नै समृद्ध नेपाल निर्माणको मुल आधार हो ।
अस्थिरताको दुश्चक्र : २००७ साल देखि हालसम्म पनि र खासगरि २०४७ देखि यता र विशेषतः २०६२–२०६३ देखि अहिलेसम्म कुनै एउटा सरकारले ४ बर्ष लगातारको कार्यकाल पुरा गर्न नसक्नु चरम अस्थिरताको प्रमाण हो । विगत २५ बर्षमा २५ वटा सरकार बन्नुले चरम अस्थिरताको संकेत गर्दछ । यो अस्थिरताको दुष्चक्र नतोडी नेपाललाई समृद्धि र समाजबादमा लान सकिदैन । बिडम्बना हाम्रो संविधानले नेपालको राजनीतिक अस्थिरतालाई स्थिरता दिने राष्ट्रपतिय वा प्रतक्ष्य निर्वाचित प्रधानमन्त्रिको प्रणाली दिन सकेन । संविधान जारी गरे लगत्तै स्थायीत्व दिन सकिने आधार थिए । संक्रमणकालका केही वर्ष सहमतिको सरकार बनाएर समाजवाद उन्मुख अर्थतन्त्रको जग निर्माण गर्नु मुलुकको आवश्यकता थियो । अर्को विडम्बना संविधान घोषणा हुने वित्तिकै नेपाली काँग्रेसले प्रमुख दुई दल मध्ये एउटा दल प्रतिपक्षमा रहनै पर्ने निर्णय गर्न पुग्यो । जसले गर्दा जन आन्दोलनका सहयात्रीहरुको सहमतिको यात्रामा समस्या देखियो । फलस्वरुप अस्थिरतामा रमाउन चाहने आन्तरिक र वाह्य शक्तिहरूलाई बल पुग्यो र संविधान कार्यान्वयनमा नै असहज स्थिति पैदा भयो । सहमतीय यात्रामा नियोजनको कदमले सिर्जना गरेको परिस्थितिले पुन द्वन्द्व निम्त्यायो । भ्ुाकम्पले निम्त्याएको महाविपत्ती सँगै नाकाबन्दि समेतको सामना गर्नु पर्यो । संविधान पछि पनि अस्थिरताको कालो बादलले पछ्याउन छाडेन ।
आशाको किरण राजनीतिक ध्रुविकरण : नेपाल स्थानीय तहको निर्वाचन सकेर अहिले प्रादेशिक र संघीय सरकार निर्माणको चरणमा छ । अहिले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनले के परिणाम देला ? के यस निर्वाचनले स्थायी सरकार दिन सक्ला ? निर्वाचन पछि पनि उही अस्थिरता दोहोरिने त हो नि ! भन्ने सोचले पिल्सिएका र अस्थिरताको भुमरीबाट नीराश भएका जनतामा सबै वामपन्थीहरुलाई एकताबद्ध गर्ने लक्ष्यसहित दुईवटा प्रमुख वामपन्थी दलहरू बीच चुनावी गठवन्धन र पार्टी एकीकरण समेत गर्ने घोषणाले एउटा उज्यालो र आशा लाग्दो राजनीतिक परिस्थीतिको निर्माण भएको छ ।

स्थायी सरकार मार्फत समृद्ध नेपाल बनाउने कार्यमा सहयोग गर्न मुलुकका हरेक सचेत नागरिकले यो अवसरको सदुपयोग गर्नु पर्दछ । ७० बर्षदेखिको अस्थिरतालाई समाप्त गर्दै स्थायीत्व र समृद्धिको नारासहित बाम गठवन्धन बन्नु स्वागत योग्य छ । वास्तवमा यो गठबन्धन अस्थिरता र गरीबी बिरुद्धको प्रहार हो र बन्नु पर्दछ । यो नेपाली काँग्रेस वा अन्य पार्टीहरुका बिरुद्धको गठजोड नबनी समृद्धिको यात्रामार्फत समाजबादको सिंडि चडने प्रस्थान बिन्दु बन्नु पर्दछ ।
स्थायीत्व र समृद्धिको आधार : पहिलो कुरा, २०४८ देखि पटक पटक हुँदै आएका निर्वाचनमा बाम पन्थीहरूले प्राप्त गरेको मत जोड्दा जहिले पनि मुलुकमा बहुमत देखिन्छ । तर फुटको कारणले एकल सरकारको नेतृत्व गर्ने अवसर पाउन सकेनन् । विगतका तिता क्षणहरु बिर्षेर बामहरु बिच एकता पैदा हुँदा एकातिर समग्र समाजमा तिक्तताको अन्त हुन्छ भने अर्कोतिर बामपन्थिहरुको सहजै स्पष्ट बहुमत बन्ने छ ।

विगतमा नेपाली कांग्रेसले आफ्नो लामो इतिहासमा एकल बहुमतको सरकार निर्माण गर्ने अवसर पटक पटक पाएर पनि त्यो सरकारलाई पूरा कार्यकाल चलाउन सकेन, मुलुकको सम्वृद्धि र स्वाभिमानलाई उँचो पार्न सकेन ।

खास खास परिवर्तनहरूमा वामपन्थीहरु र नेपाली काँग्रेस संगसंगै आन्दोलनमा आए र राष्ट्रिय एकतासहितको सरकार संचालनमा नेपाली काँग्रेसको अग्रता रह्यो र पनि देशमा अपेक्षित प्रगति हुन सकेन । आफ्ना पुराना मूल्य मान्यताबाट बिचलित भएको र नयाँ मान्यतालाई आत्मसात् गर्न नसकेको कांग्रेससहितको गठबन्धनले राजनीतिक स्थिरता र समाजवाद उन्मुख आर्थिक सामाजिक रुपान्तरण गर्ने कुरामा बहुसंख्यक जनताको विस्वास रहेन ।

तर वामपन्थिहरुको बहुमतको सरकारले कसरी सरकार चलाउला ? के पाँचबर्ष स्थायी सरकार देला ? हेर्न पाएको अवस्था छैन । यसैले स्थायी सरकार बनाउने अवसर प्रदान गरेर एक पाँच बर्षे अवधिको परिक्षणकाल वाम गठबन्धनले पाउनु न्यायोचित र जायज हुन्छ ।

यदि बहुमत प्राप्त गरेर पनि स्थायी सरकार दिन सकेनन भने उनिहरुले पनि नेपाली काँग्रेसले ब्यहोरेका आरोपहरु नै ब्यहोर्नु पर्छ ।यसैले स्थायीत्वको आधार वामपन्थिहरुको सरकार बन्ने उत्साहजनक अवस्था बनेको छ ।
स्मरणीय छ, हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा वामपन्थीहरूले प्राप्त गरेको सिट र मत जोड्दा पनि सजिलै बहुमत हुने देखिन्छ्र र यस्तो बहुमतले देशमा स्थिरता ल्याउन सक्छ ।
दोश्रो कुरा, वामपन्थिहरुले अल्पमतकै छोटो समय सरकार संचालनको अवसर पाउँदा पनि शिक्षा, स्वास्थ, सामाजिक सुरक्षा–बृद्धभत्ता, विकास निर्माणमा जनताको सहभागिता, लोडसेडिङ्गको अन्त्य लगायतका कुरामा उदाहरणीय काम गरेर देखाएका छन् ।

नेपाली काँग्रेसको सरकारले उदारिकरणको नाममा उद्योगहरू बेचिने र राष्ट्रिय अर्थतन्त्रलाई कमजोर पार्ने काम गरेर देशलाई गरीबिको दुश्चक्रमा पु¥यायो भन्ने आरोप लाग्नबाट बामपन्थिका सरकारहरु बचेका छन । फेरी लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण र सम्बृद्धि तर्फ देशलाई लैजान वामपन्थीहरुले नै यो मुलुकमा सबैभन्दा बढी अविचलित बलिदानीपूर्ण संघर्ष गरेका छन । लामो समयसम्म जेल, नेल, यातना भोगेका छन ।

विश्वका अनुभव र नेपालको धरातलीय यथार्थमा आधारित मोडेलको लोकतान्त्रिक समाजवाद निर्माण गर्न सक्ने भरपर्दो शक्तिको रुपमा जनता बीच आफूलाई स्थापित गरिसकेका छन् ।
त्यसैले नवीन नेपालको निर्माणका लागि समृद्धिको यात्राको उद्घोष सहित एकताबद्ध हुने प्रण गरेको बाम गठबन्धनलाई थप एकताबद्ध हुन प्रेरणा दिन र एक दुई सिट जितेर राजनीतिक सौदाबाजी गर्ने परिपाटीबाट देशलाई बचाउन पनि दरिलो बहुमत प्राप्त गर्ने बाम गठबन्धनका पक्षमा दिने चुनावी नतीजाले नै देशलाई स्थायीत्व, समृद्धि र समाजबादको मार्गमा डो¥याउने छ ।
एउटा खम्बा चितवन अर्को झापा : स्थायीत्व, समृद्धि र समाजबादी मार्गको सुत्रधार का रुपमा निर्मीत वामगठबन्धनका सर्जक खडग प्रसाद ओली र पुष्पकमल दाहाल प्रचण्ड नै हुन । यो विषय घाम जस्तै छर्लङ्ग छ ।
आलेख को लेखक चितवन बासी हुनुको नाताले यसपटक चितवन वासीहरूलाई थप अपूर्व अवसर पनि जुटेको महसुस गरेको कुरा अभिब्यक्त गर्नु सान्दर्भिक होला ।

चितवनको शिवनगरमा हुर्केर, शिवनगर र रामपुरमा पढेर, पढाएर मुलुकको राजनीतिक सामाजिक परिवर्तनको लागि नेतृत्व गर्ने, राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा चर्चित क्रान्तिनायक, गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री क. पुष्पकमल दाहाल (प्रचण्ड) चितवनको क्षेत्र नं.३ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्दै हुनुहुन्छ ।

वास्तवमा उहाँ देशकै अविभावकलाई चितवनको आफ्नै आँगनको अविभावकका रुपमा पाउँदा सबै जनताहरुको खुशिको विषय हो । चितवने राजनीतिक शक्तिहरुको साझा अविभावक को छवि निर्माण गरेका स्थायीत्व, समृद्धि र समाजबादी मार्गको सुत्रधार क. प्रचण्ड र झापालीका प्रीय नेता क. केपी ओलीको विजय तत्कालका लागि समृद्धिको मार्गको यात्राको प्रारम्भ हो भन्दा अत्युक्ति नहोला । धन्यबाद !