निकुञ्ज भित्रको गोही प्रजनन केन्द्र व्यवस्थित गरिदै / वर्षेनि एक सय अण्डा ल्याएर चल्ला कोरल्ने

चितवन, मंसिर १२ । सन् १९७८ देखि सुरु भएको चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्र नेपालकै एकमात्रै सुविधायुक्त प्रजनन केन्द्र हो । यहाँ वर्षेनि एक सय भन्दा बढी बच्चा कोरल्ने गरिएको छ । बर्दियामा रहेको गोही प्रजनन केन्द्रले गत वर्षदेखि मात्रै बच्चा कोरल्न थालेको भएपनि चितवनको प्रजनन केन्द्र सुविधासम्पन्न मानिन्छ । चितवन राष्ट्रिय निकुञ्ज भित्रको घडियाल गोही प्रजनन केन्द्रको व्यवस्थापनको काम समेत भएको छ । चितवन राष्ट्रिय निकुञ्जको घडियाल प्रजनन केन्द्रमा रहेका गोहीले सोही स्थानमा नै अण्डा पार्ने गरेका छन् भने प्राकृतिक बासस्थानमा गोहीले पारेको अण्डा समेत संकलन गरेर यहाँ ल्याई बच्चा कोरल्ने काम थालिएको छ । चितवन राष्ट्रिय निकुञ्जको प्रजनन केन्द्रले हरेक वर्ष सय वटा अण्डा नदी किनारबाट ल्याएर बच्चा कोरल्ने तथा यहाँ हुर्किएका सय वटा गोही प्राकृतिक बासस्थानमा लगेर छोड्ने गरेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कंडेल बताउँछन् ।

स्वच्छ पानी मन पराउने र ताजा माछा खाने घडियाल गोही संरक्षित जीव हो । प्राकृतिक वासस्थानमा यी जीवको संख्या नेपालभर तीन सयभन्दा केही बढी भएको अनुमान छ । छ सय ५० वटा गोही रहेको प्रजनन केन्द्रलाई व्यवस्थित गर्नको लागि पोखरी मर्मत सम्भार तथा दैनिक सरसफाई, पानी खोल्ने र भर्ने काम गर्नको लागि कर्मचारीको समेत खटाइएको घडियाल प्रजनन केन्द्रका प्रमुख बेदबहादुर खड्काले बताए ।

घडियाल गोहीको दुश्मनको रुपमा प्रदुषण तथा चोरीशिकार रहेको संरक्षणकर्मीहरु बताउँछन् । गोही प्रजनन केन्द्रमा एउटा मात्रै बयस्क भाले गोही रहेको छ भने चितवन राष्ट्रिय निकुञ्ज वरिपरीको प्राकृतिक क्षेत्रमा भाले गोही नरहेको निकुञ्जले जनाएको छ ।

Promise Education Consultancy