महको आयात प्रतिस्थापनको निति नहुंदा मौरीपालकहरु चिन्तित

चितवन, मंसिर १२ । महको आयात प्रतिस्थापनका लागि सरकारको उपयुक्त निति नहुंदा स्थानिय मौरीपालक किसानहरु चिन्तित बनेका छन् ।

स्वदेशि माग धान्न सक्ने मौरीको मह उत्पादन हुने भएपनि केहि कम्पनिहरुले भारतबाट मह आयात गर्दै आएका छन् । नेपालमा बार्षिक २ हजार मेट्रिक टन भन्दा बढि मौरीको मह उत्पादन हुंदै आएको छ । तर भारतिय चर्चित कम्पनि डाबर र पतञ्जलीले भने भारतबाट मह आयात गर्दै आएका छन् ।

डाबरले विगत ३ बर्षदेखि यहांको मह खरिद गर्न बन्द गरेको छ । नेपालमा रहेका जुनसुकै स्वदेशि वा विदेशि कम्पनिले स्थानिय उत्पादनलाइ प्राथमिकता दिनुपर्ने किसानहरु वताउंछन् ।

डाबरले बार्षिक करिब ३ सय मेट्रिक टन मह नेपालमा विक्री गर्दै आएको छ । यसै बर्षदेखि स्थानिय उत्पादीत मह खरिद बन्द गरेको पतञ्जलीले गत बर्षसम्म बार्षिक १ सय ३ टन मह खरिद गर्ने गरेको थियो ।

स्थानिय महको गुणस्तरियता कम हो भने सरकारले त्यसको मापन गर्नुपर्ने अन्यथा स्थानिय उत्पादित महलाइ प्राथमिकता दिनुपर्ने भरतपुर मौरिपालन शरदपुरका व्यवसायी विष्णु भुषाल वताउंछन् ।

मह विक्रीका लागि पहिला ल्याब टेस्ट गर्नुपर्ने भएपनि त्यसको रिपोर्ट आउन महिनौं लाग्दा किसानहरु बढि समस्यामा पर्ने गरेको भुषालले वताए । भुषालको यसअघि करिब २ बर्ष अगाडि मौरी चरिचरनका लागि मेघौलीमा लगेका १ सय ४३ घार मौरी आगजनी बाट नष्ट भएका थिए ।

गत बर्ष मात्रै दाङको रामपुरमा लगिएका ५९ घार मौरी विष राखेर मारिएको थियो । यस बारे मौरी विकास शाखा भण्डारा देखि कृषि मन्त्रालय सम्म पत्र मार्फत राहत माग गर्दा पनि सरकारले वेवास्ता गरेको उनको गुनासो छ । पहुंचवालाले मात्रै राहत रकम पाउने गरेको उनको भनाइ छ ।