विप्लवका कार्यकर्ता पेस्तोल र बमसहित समातिए

 

आनन्द पोखरेल

चितवन, ११ मंसिर । पेस्तोल र त्यसमा लाग्ने गोली तथा आलु बमसहित नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता चितवनबाट पक्राउ परेका छन् ।

निर्वाचन विरोधी गतिविधि गरेर हिँड्ने व्यक्ति र समूहलाई नियन्त्रणमा लिने अभियान अन्तर्गत खोटाङको कोपिलासगढी गाउँपालिका घर भएका पुरन भनिने ३७ वर्षीय पुर्णबहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो ।

भरतपुर महानगरपालिका वडा नम्बर १६ मा बस्ने राईको साथबाट एक थान कटुवा पेस्तोल, त्यसमा लाग्ने कार्टिज एक थान, आलु बम १० थान, अखिल नेपाल क्रान्तिीकारी ट्रेड युनियनको चन्दासहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी प्रभुप्रसाद ढकालले जानकारी दिए ।

राईसँगै नेकपाका मजदुर फ्याक्सन ईन्चार्ज तथा जनसत्ता सदस्य पूर्वेली कान्छालाई पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको ढकालले बताए ।

राईको नाममा काटिएको ३० हजार रुपैयाँको चेक र नेकपाको महत्वपूर्ण दस्तावेज समेत बरामद गरिएको प्रहरीले बताएको छ ।

यसैबीच, विभिन्न व्यापारी तथा सर्वसाधारणलाई फोन गरि धम्काउँदै रकम माग्ने दुई जना व्यक्तिलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

गुण्डागर्दीमा संलग्न भएको आरोपमा प्रहरीले भरतपुर ११ का ३३ वर्षीय अमित लामा र भरतपुर १० का ३६ वर्षीय सचिन गुरुङलाई पक्राउ गरेको ढकालले जानकारी दिए ।