माडीलाई मणि झैँ चम्काउने छु : प्रचण्ड

 

 

चितवन, ११ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई अस्थिरताको दुश्चक्रबाट मुक्त बनाउन वामगठबन्धन गरिएको बताएका छन ।

माडीको वसन्तपुरमा आज आयोजित चुनावी सभामा राजनीतिक अस्थिरताका कारण देशको विकास हुनसकेको बताउँदै उनले वाम गठबन्धले नै अस्थिरता अन्त्य गर्ने बताएका हुन ।

सिंगो राष्ट्रको आर्थिक तथा सामाजिक विकासका लागि आफूले निर्वाचनमा भाग लिएको र माडी क्षेत्रबाटै विकासको शुरुवात हुने भन्दै अध्यक्ष प्रचण्डले ठोरी–केरुङ राजमार्ग, जंगली जनाबर र मानवबस्ती बीचको द्वन्द्व अन्त्य गर्ने, माडी क्षेत्रमा चक्रपथ तथा कृषि सडक निर्माण गर्ने, कृषिको आधुनिकिकरण गर्ने, खोलाको तटबन्ध निर्माणलगायतका काम तत्काल शुरु गर्ने प्रितिबद्धतासमेत व्यक्त गरे ।

चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत रहेका अध्यक्ष प्रचण्डले माडीमा विकासका प्रसस्तै सम्भावना भएका कारण यसको तीव्र गतिमा विकास गर्ने बताए।
‘कृर्षिमा आधुनिकिकरण, निकुञ्जको सही सदुपयोग र यहाँको विविधिकरणको राम्रोसँग सदुपयोग गर्न सबैको तर्फबाट सक्दो सहयोग भयो भने माडीलाई चितवनकै मणि बनाउन सकिन्छ’, उनले भने।

अध्यक्ष प्रचण्डले माडीको विकासका लागि आफूले ठूला योजना बनाएर अगाडि बढ्ने प्रतिवद्धता समेत जनाए। उनले निकुञ्जमा अकासे पुल र सुरुङमार्ग निर्माण गरेर अगाडि बढन सकिने सम्भावना औँल्याए।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले माडी सम्भावना हुँदा हुँदै पनि राज्यको आँखा नपरेका कारण पछाडि परेको बताए। उनले आफूले जिते यस क्षेत्रको राम्रो विकास गरेर नमूना क्षेत्रको रुपमा अगाडि बढाउने प्रतिवद्धता समेत जनाए।

 

राष्ट्रिय निकुञ्जको व्यवस्थापन गर्नु यस क्षेत्रको ठूलो चुनौति रहेको भन्दै उनले यसको सही रुपमा व्यवस्थापन गर्न सकिने बताए। चितवनको सबैभन्दा बढी बाढी प्रभावित क्षेत्रको रुपमा रहेको माडीलाई तटबन्ध निर्माण गरी यसको व्यवस्थापन गरिने उनको भनाइ थियो।