हप्ताअसुलीबाट अन्डरवर्ल्ड शैलीको असुलीमा नेपाली गुन्डा नाइके

काठमाडौँ, ११ मंसिर । अपराध गरेपछि अपराधीहरू आफ्नो पहिचान लुकाउन हरसम्भव प्रयास गर्छन् । तर, निर्माण व्यवसायी शरद कुमार गौचनको हत्यापछि गुन्डा लोप्साङ लामाले एक घन्टाभित्रै प्रहरीलाई फोन गरेर हत्याको सगर्व जिम्मेवारी लिए । काठमाडौंका प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकलाई फोन गरेर लोप्साङले हत्याको जिम्मेवारी लिएका थिए । अनुसन्धानका क्रममा उनै लोप्साङको समूहले हत्या गरेको पुष्टि भएको छ ।
आखिर किन उनले घटनाको जिम्मेवारी लिए रु यसको पछाडि उनीहरूको ठूलो योजना थियो । आफूहरूको नाममा आतंक फैलाउने र पैसा कमाउने । अर्थात् अन्र्डरवल्र्ड चलाएर पैसा असुल्ने । हालसम्को प्रहरी अनुसन्धानमा गौचन हत्याको प्रमुख उद्देश्य नै अन्डरवल्र्ड चलाउने देखिएको छ । अहिलेसम्म उनीहरू आफ्नो योजनामा सफल भएका छन् र डेढ महिना बित्दा पनि सो समूहलाई नियन्त्रणमा लिन प्रहरी असफल भएको छ ।
हत्याकै दिन उनीहरूले नेपालका एक दर्जन क श्रेणीका ठेकेदारलाई फोन गरी पैसा नदिए गौचनकै हालत बनाइदिने भन्दै धम्क्याएका थिए । अन्य व्यवसायीलाई समेत धम्क्याएर उनीहरूले पैसा असुल्न थालिसकेका छन् । तर, गिरोहका नाइके समीरमानसिंह बस्नेत, मनोज पुन, लोप्साङलगायत कहाँ छन् भन्ने प्रहरीले पत्ता लगाउन सकेको छैन । यो विषय प्रहरीका लागि ठूलो चुनौती बनेको छ । गौचन हत्या छानबिन समितिका संयोजक डिआइजी गणेश केसी पनि अन्डरवल्र्ड शैलीकै अपराधमा उनीहरू संलग्न भएको बताउँछन् । ‘तर, उनीहरूलाई हामी छिट्टै पक्राउ गर्छौं,’ डिआइजी केसीले भने, ‘उनीहरू भारतमा रहेका र हामीले पक्राउको प्रयास गरिराखेका छौँ ।’ नयाँपत्रिकामा खबर छ।

Promise Education Consultancy