वन्यजन्तुको आक्रमणबाट जोगाउन निकुञ्जको सिमानामा पर्खाल लगाउने बाम उम्मेदवारहरुको प्रतिबद्धता

चितवन,(रत्ननगर) १० मंसिर । चितवन क्षेत्र नं.१ का बाम गठबन्धनका उम्मेदवारहरुले कुमरोजवासीलाई वन्यजन्तुको आक्रमणबाट जोगाउन निकुञ्ज र बस्तीको सिमानामा पर्खाल नगाउन प्रतिबद्धता जनाएका छन । वन्यजन्तु प्रभावित क्षेत्र खैरहनी नगरपालिकाको कुमरोजमा भोट माग्न पुगेका उम्मेदवारहरुले अब वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउनु पर्ने बाध्यतको अन्त्य गर्ने बताए ।

प्रतिनिधि सभाका उम्मेदवार तथा पूर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डेले कुमरोजवासीलाई वन्यजन्तुको आक्रमणबाट जोगाउन निकुञ्ज र बस्तीको सिमानामा पर्खाल लगाउने बताए । बस्तीको सिमानाका पर्खाल लगाएर यहाँका नागरिकको रक्षा गर्ने दायित्व मेरो हो उनले भने निर्वाचन जितेपछिको मेरो पहिलो काम यही हुने छ । उनले कुमरोजलाई सौराहाको पर्यटन संग जोडेर आर्थिक उपार्जनको माध्यम बनाउने बताए । निकटका गाउँहरुलाई सौराहासंग जोड्ने योजना सहित लोथर देखि सौराहा सम्म पर्यटकीय मार्ग बनाउन कामको प्रक्रिया सुरु भईसकेको उनले बताए ।

कार्यक्रममा प्रदेश सभा(ख)का उम्मेदवार कृष्ण प्रसाद खनालले निर्वाचन पछि वाम गठबन्धनको बलियो सरकार बन्ने र त्यही सरकारले निकुञ्ज र बस्तीको सिमानामा पर्खाल लगाउने बताए । तपाईहरुको समस्या हामीले बुझेका छौं उनले भने अब हात्ती,गैंडाले हानेर कोही पनि मर्न पर्दैन । वन्यजन्तुले मानिसलाई आक्रमण संगै वालीनालीको पनि क्षति पुर्याउने गरेको भन्दै उनले निकुञ्जकै कारण स्थानीयले भोग्नु परेको समस्या छिट्टै अन्त्य हुने बताए । बाम गठबन्धनका उम्मेदवाहरु सुरेन्द्र पाण्डे,कृष्ण प्रसाद खनाल,समानुपातिक उम्मेदवार कन्चन खनाल,फुलमति चौधरीले खैरहनी नगरपालिका वडा नं.१३ मा घरदैदो र कोणसभा गरी जनतासंग भोट मागेका हुन ।