उम्मेदवार र मतपेटिका बोकेको गाडीमाथि बम प्रहार

नुवाकोट, १० मंसिर । उम्मेद्वार र मतपेटिका बोकेको गाडीलाई लक्षित गरेर नुवाकोटमा बम विस्फोट गराइएको छ ।

बिदुर नगरपालिका वडा नम्बर ७ स्थित अधेँरी खोलमा आइतबार साँझ मतपेटिका बोकेको गाडी र क्षेत्र नम्बर २ को प्रदेशसभा ख का माओवादी केन्द्रका उम्मेदवार हिरानाथ खतिवडासहितका स्थानीय नेताहरुलाई लक्षित गरेर बम विस्फोट गराइएको हो ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवले बम पड्किएको भएपनि उम्मेदवार र मतपेटिका सुरक्षित रहेको बताए ।

विभिन्न मतदान केन्द्रका मतपेटिकाहरु मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुर्याउने क्रममा खतिवडासहितका स्थानीय नेताहरु सँगै आएका थिए । मतपेटिका बोकेको गाडी अघि बढिसकेको अवस्थामा खतिवडालगायत चढेको गाडीलाई लक्षित गरेर बम विस्फोट गराइएको बताइएको छ ।