तीन घेरामा निर्वाचन सुरक्षा

काठमाडौं, १० मंसिर । चार सुरक्षा निकायको समन्वयमा कडा सुरक्षाबीच आइतबार ६ वटा प्रदेशका ३२ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदै छ । निर्वाचनमा म्यादी प्रहरीबाहेक सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका गरी १ लाख ७० हजार सुरक्षाकर्मी सुरक्षार्थ खटिएका छन् । म्यादी प्रहरी मात्रै ९८ हजार २ सय ६८ जना चुनावमा खटिएका छन् ।
चुनाव बिथोल्ने समूहले बुथ कब्जादेखि मतदानस्थलमा बम विस्फोट, मतपेटिका लुटपाट र उम्मेदवार अपहरण गर्नेसम्मका चुनौती आकलन गरेर सुरक्षाकर्मी खटिएका छन् । हाल चुनाव भइरहेका ३२ जिल्लामध्ये प्रदेश नम्बर ७ र ४ सुरक्षा चुनौतीका दृष्टिले अन्य प्रदेशको तुलनामा त्यति संवेदनशील मानिएका छैनन् ।
बाँकी चार प्रदेश क्रमशः १, ३, ५ र ६ नम्बर प्रदेश सुरक्षा चुनौतीका दृष्टिले संवेदनशील मानिएका छन् । जसअनुसार प्रदेश नम्बर १ का संखुवासभा, ताप्लेजुङ, पाँचथर, प्रदेश नम्बर ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछापमा नेत्रविक्रम चन्द नेतृत्वको ‘विप्लव’ माओवादी चुनाव बिथोल्न सक्रिय हुने सूचनाका आधारमा सुरक्षाकर्मी खटाइएको छ ।
त्यसैगरी, प्रदेश नम्बर ५ को रुकुम ९पूर्वीभाग० र रोल्पा, प्रदेश नम्बर ६ को रुकुम ९पश्चिम भाग०, जाजरकोट, जुम्ला र कालिकोटलाई पनि केन्द्रीय सुरक्षा समितिले अति संवेदनशील जिल्लाको सूचीमा राखेर सुरक्षाकर्मी परिचालन गरेको छ । प्रदेश नम्बर ७ का चुनाव हुने जिल्ला दार्चुला, बझाङ, बाजुरा र बैतडी विकट पहाडी जिल्ला भएकाले चुनाव बिथोल्ने समूहले मतपेटिका लुटपाट गर्न सक्ने र उम्मेदवारकै अपहरण गर्नसक्ने आशंकामा सुरक्षा व्यवस्था चुस्त पारिएको छ ।,अन्नपूणृपोष्टमा खबर छ ।