ज्येष्ठ नागरिकलाई सम्मान

चितवन, ०९ मंसिर । चितवनको भरतपुरमा रहेको चित्रवन बचत तथा ऋण सहकारी संस्था लिमिटेडल संस्थाका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । संस्थाको २१ औँ वार्षिकोत्सवको अवसर पारेर संस्थाले २७ जना वृद्धवृद्धाहरुलाई सम्मान गरेको हो ।
संस्थाले आफ्ना शेयर सदस्य मध्ये ८० वर्ष नाघेका १५ जना पुरुष र १२ जना महिलालाई सम्मान गरेको थियो । समाजमा रहेका ज्येष्ठ नागरिकहरु इतिहास भएको र उनीहरुसँग भएको ज्ञानलाई मनन गर्न सकेमा समाज परिवर्तन गर्न सहज हुने संस्थाका अध्यक्ष भुवन आचार्यले बताए । समाजका हरेक व्यक्ति ज्येष्ठ नागरिक हुने भएकाले आफ्ना आमाबुबालाई सबैले सम्मान गर्नुपर्नेमा आचार्यले जोड दिए ।
संस्थाका ज्येष्ठ सदस्यहरुलाई जिल्ला सहकारी संघका अध्यक्ष टिकाराम भट्टराई, नेफ्स्कुन सञ्चालक शान्ती अधिकारी, नेफ्स्कुन सञ्चालक भरतप्रसाद अधिकारी, चितवन जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष तेजेन्द्रबहादुर खड्कालगायतले दोसल्ला ओडाएर सम्मानपत्रबाट सम्मान गरेका थिए । त्यस्तै चित्रवन बचत तथा ऋण सहकारी संस्थाले उक्त कार्यक्रममा राष्ट्रिय माध्यमिक विद्यालय कृष्णपुरमा अध्ययनरत दुई जना विद्यार्थीलाई छात्रवृत्ति समेत प्रदान गरेको छ ।
त्यस्तै, वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको विविध खेलकुद कार्यक्रमका विजेताहरुलाई पुरस्कार समेत प्रदान गरिएको थियो । यसैगरि शनिबार नै आयोजना गरिएको रक्तदान कार्यक्रममा १६ जना महिला सहित ६८ जनाले रक्तदान गरेका छन् ।