उद्योग मैत्री नीति भएन : व्यवसायी

चितवन, ०९ मंसिर । उद्योग मैत्री नीति नभएको कारण औद्योगिक क्षेत्र विस्तारमा समस्या परेको चितवनका उद्योगी व्यवसायीहरुले बताएका छन् । दोस्रो उद्योग दिवसको अवसर पारेर शनिबार भरतपुरमा आयोजना गरिएको औद्योगिक कोरीडोर, औद्योगिक ग्राम, औद्योगिक क्षेत्रको विस्तार तथा औद्योगिक क्षेत्रको समस्या र समाधानको विषयमा अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरुले सरकारी सम्पत्ति निजीकरण गर्दा समेत औद्योगिक क्षेत्रको विस्तारमा समस्या परेका बताए ।
सुरुमा उद्योग सञ्चालन गर्नको लागि धेरै जग्गा लिएर राखेका व्यवसायीले जग्गाको मूल्य बढेपछि त्यो जग्गालाई खण्डिकरण गरेर बेच्दा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले अनुगमन गरेर कारबाही गर्ने अवस्था नआएको नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले गुनासो गरे । उद्योग सञ्चालनको लागि भनेर सुरुमा धेरै जग्गा हडप्ने प्रवृत्तिले अहिले जग्गाको मूल्य आकाशिदा ती व्यवसायी लोभमा परेर जग्गालाई प्लटिङ गर्न उद्धत भएको अधिकारीले बताए । सरकारले नीति ल्याएर जग्गालाई खण्डिकरण गर्न रोक्दै उद्योगमैत्री वातावरण सिर्जना गर्नुपर्नेमा अधिकारीले जोड दिए ।
कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख होम प्रसाद घिमिरेले चितवनमा उद्योगको वर्तमान अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा घिमिरेले नेपालमा औद्योगिक वातावरण लगानीमैत्री बन्न नसक्नु, विद्युतको आपूर्तिमा अपेक्षित सुधार नआउनु, औद्योगिक वस्तुहरुको उच्च प्रतिस्पर्धा हुनु, दक्ष जनशक्ति र नवितम प्रविधिको अवलम्बन गर्ने क्षमता न्यून हुनु जस्ता औद्योगिक क्षेत्रका समस्या रहेको बताए । विगतमा कुल ग्राहस्थ उत्पादनमा उद्योग क्षेत्रको १६ प्रतिशत योगदान भएको भएपनि हाल आएर ५.५ प्रतिशतको हाराहारीमा सिमित हुन पुगेको घिमिरेको भनाइ थियो ।
औद्योगिक क्षेत्रका समस्या हुँदा हुँदैपनि यसको समाधानका उपायहरु समेत भएकोमा व्यवसायी तथा जनप्रतिनिधिहरुले जोड दिएका छन् । चितवनको शक्तिखोरमा स्थापना हुन लागेको दुई हजार बिघाहा क्षेत्रफलमा फैलिएको औद्योगिक क्षेत्र सरकारले प्रयोग गर्नुपर्ने, भएका उद्योगहरुको संरक्षण गर्दै नयाँ उद्योगलाई आकर्षण गर्नुपर्नेमा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले जोड दिए । चितवनमा उद्योग फस्टाउने खालका प्रशस्त सम्भावनाहरु भएको भएपनि सरकारी उदासिनताका कारण उद्योगलाई चाहिने वातावरण सिर्जना गर्न नसकिएको वनले बताए ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले नेपालमा भएका दक्ष कामदार, बौद्धिक पलायन हुँदा समेत औद्योगिक क्षेत्र विस्तारमा समस्या परेकोले नेपालमा नै सीप अनुसारको रोजगार सिर्जना गर्नुपर्ने बताए । राजनीतिक दलालहरुले सरकारी उद्योगलाई निजीकरण गर्नाले समेत नेपालमा उद्योगको विकास हुन नसकेको गौतमले बताए । औद्योगिक विकासको लागि निष्ठापूर्वक काम गर्नसक्नुपर्ने, नेपालमा भएको मानव स्रोतको अधिकतम प्रयोग गर्नुपर्ने, शक्तिखोरमा मौरीको प्रशोधन केन्द्र स्थापना गर्नुपर्ने गौतमको भनाइ थियो ।