निष्पक्ष मतदान गराउन प्रशिक्षण

आनन्द पोखरेल
चितवन, ०९ मंसिर । मंसिर २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउनको लागि चितवनका मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई प्रशिक्षण दिइएको छ । जिल्ला निर्वाचन कार्यालय चितवनले आयोजन गरेको मतदान तथा मतगणना प्रशिक्षण कार्यक्रममा जिल्लाको सम्पूर्ण सुरक्षा व्यवस्था चुस्त दुरुस्त राखिएकोले उच्च मनोबलका साथ निर्वाचन गराउन आग्रह गरिएको थियो ।
मतदान प्रकृयामा मतदान अधिकृत र सहायक मतदान अधिकृतको सामान्य गल्तीका कारण पनि पुनः मतदान गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै कर्मचारीहरुलाई सचेत पारिएको थियो । चितवनका मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले मतदानको बेलादेखि मतपेटिका सिल गर्ने बेलासम्मका सामान्य विषयमा ध्यान दिँदै नहतारिइ काम गर्न मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई आग्रह गरेका छन् । काममा हतार गर्दा पछि अप्ठ्यारो पर्न सक्ने भन्दै निर्धक्क भएर सबैको सहयोग लिएर काम गर्नको लागि शर्माले आग्रह गरे ।
स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सबैले मतदान गर्न पाउने वातावरण सिर्जना गरेर मतदान गराउनु स्थानीय सुरक्षा समितिको कर्तव्य हो । यसको लागि जिल्लाका सबै सुरक्षा निकाय सहित मतदान अधिकृतहरु भयरहित भएर भएर मतदानमा खटिनुपर्ने र यस्तो हुँदा हुँदै कतै मानवीय त्रुटी भएर केही समस्या आएमा स्थानीय सुरक्षा समितिले सघाउने चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट बताउँछन् । मतदानको समयमा कुनै अप्ठ्यारो आइ परेमा सुरक्षा समितिलाई खबर गर्न आग्रह गर्दै भट्टले सबै मतदान केन्द्रमा तत्काल सुरक्षाकर्मी पुग्न सक्ने गरि निर्वाचन सुरक्षा योजना तयार पारेको बताए ।
चितवनमा नेकपा माओवादीले निर्वाचन बिथोल्न खोज्ने भएपनि त्यस्ता घटनालाई निस्कृय पार्नको लागि जिल्लामा पर्याप्त मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्लामा खटिएको अनुगमन टोलीका प्रमुख तथा सहन्यायाधीवक्ता उद्धव प्रसाद पुडासैनीले मतदान अधिकृत र सहायक मतदान अधिकृतले आचार संहिता अनुसार काम गरेमा उनीहरुलाई पुस्कृत गर्न तथा लापरबाही गरेमा कारबाहीको लागि सिफरिस गर्नेसम्मको अधिकार पाएको बताए । देशमा उत्कृष्ट जिल्लाको रुपमा पहिचान बनाउन सफल भएको जिल्लाको छवीलाई कायम राख्दै यस पालिको निर्वाचन पनि चितवनमा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सबैले पहल गर्नुपर्ने पुडासैनीको भनाइ थियो ।
तीन वटा प्रतिनिधिसभा र छ वटा प्रदेशसभा गरि जम्मा नौ वटा निर्वाचन क्षेत्र भएको चितवनमा तीन लाख ५४ हजार ३६ मतदाताले एक सय ६१ मतदान स्थलका चार सय आठ मतदान केन्द्रबाट मतदान गर्दैछन् । जिल्लामा निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउनको लागि चार हजार आठ सय ८६ निर्वाचन कर्मचारी, एक हजार सात सय १० म्यादी प्रहरी, एक हजार आठ सय ९५ नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका कर्मचारी खटाइदैछ ।