बूढीगण्डकीका लागि सवा १३ अर्ब इन्धन कर संकलन

काठमाडौं, ९ मंसिर । राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि इन्धनमा लगाइएको करबाट सवा १३ अर्ब रुपैयाँ संकलन भएको छ।सरकारले आयोजना प्रभावितका लागि मुआब्जा वितरण गर्न आवश्यक रकम व्यवस्थापन गर्न डेढ वर्ष अघिदेखि पेट्रोलियम पूर्वाधार कर बापत डिजेल, पेट्रोल र हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ कर लगाउँदै आएको छ ।
केपी ओली सरकारले आर्थिक वर्ष २०७२र७३ को बजेट वक्तव्यमार्फत ‘स्वच्छ ऊर्जा विकासका लागि बूढीगण्डकी जलविद्युत् आयोजनाु का नाममा पेट्रोल, डिजेल र हवाई इन्धनमा भन्सार विन्दुमै प्रतिलिटर पाँच रुपैयाँका दरले पूर्वाधार कर लिने घोषणा गरेको थियो।सोही घोषणाअनुसार सरकारले कर असुल्दै आएको छ।अन्य कुनै स्रोत नभेटिएको अवस्थामा इन्धनबाट उठाइने करबाट पनि यो आयोजना निर्माण गर्न सम्भव रहेको देखिएको छ।करिब एक हजार दुई सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण कार्य सम्पन्न गर्न दुई खर्ब ५० अर्ब रुपैयाँ लाग्ने अनुमान छ । आजको अन्नपूर्णपोष्टमा खबर छ।