विदेशीको इशारामा चल्ने नेताले देश समृद्ध बनाउदैनन् : मन्त्री पाण्डे

चितवन, ८ मंसीर । चितवन ३ नम्बर क्षेत्रका प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा राप्रपा (प्रजातान्त्रिक) का केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेले आफ्नो निर्वाचन क्षेत्रलाई समृद्ध बनाउने अठोट सहित चुनावी मैदानमा आएको बताएका छन् ।

भरतपुर–१६ को झनझनेमा आयोजित कोणसभामा बोल्दै वन तथा भूसंरक्षण मन्त्री पाण्डेले ०६४ सालमा साविक ४ र ५ क्षेत्रमा माओवादीले चुनाव जित्दा विकास निर्माणका काम ल्याउन पहल नगरेको इतिहास जनताले नभूलेको दावी गरे ।
“०६४ सालमा ४ नम्बर क्षेत्रबाट चित्रबहादुर जीले जित्नुभयो, ५ नम्बर क्षेत्रबाट अमिक जीले जित्नुभयो”, उनले भने, “त्यो बेला कुन विकासका लहर ल्याउनुभयो, जनता फेरी झुक्किनेवाला छैनन् ।”

उनले ०७० सालमा ५ नम्बर क्षेत्रमा आँफु र ०७१ मा ४ नम्बर क्षेत्रमा कांग्रेसका रामकृष्ण घिमिरेले चुनाव जितेपछि हालको निर्वाचन क्षेत्रमा विकास निर्माणले गती पाएको दावी गरे । स्थानीयस्तरमै रहेर विकास निर्माणका योजना कार्यान्वयन गराउन लागेपछि विपक्षि गठबन्धन अत्तालिएर अनेक भ्रम छर्दै हिँडेको आरोप लगाए । उनले माओवादीबाट ३ जना प्रधानमन्त्री हुँदा समेत हालको निर्वाचन क्षेत्र सधै उपेक्षामा परेको बताए ।

उनले भ्रष्टचारमा रमाउने र विदेशीको इशारामा चल्ने नेताले देश समृद्ध बनाउन नसक्ने बताए । ५ वर्षे कार्यकालमा आफ्नो निर्वाचन क्षेत्रलाई कांग्रेसको साथ लिएर विकसित क्षेत्र बनाउने दावी गरे ।
लोकतान्त्रिक गठबन्धनले शुक्रबार भरतपुर–१६ का फुर्तिचोक, गोविन्दचोक, नर्सरी चोक, चिरञ्जिवी चोक, विजयनगरको मगर टोल, लामा चोक, घुम्तिचोक, सृजनशिल चोक लगायतका ठाउँमा घरदैलो पश्चात चुनावी कोणसभा गरेको थियो । यसैबी भरतपुर–१६ मा चुनावी अभियानका शिलशिलामा १२ जना माओवादी केन्द्रका कार्यकर्ता कांग्रेसमा र १२ जना एमालेका कार्यकर्ता राप्रपा (प्रजातान्त्रिक) मा प्रवेश गरेका छन् ।

Promise Education Consultancy