लोकतान्त्रिक गठबन्धनद्धारा चुनावी अभियानमा मतदाता शिक्षा

चितवन, ८ मंसीर । चितवन ३ नम्बर क्षेत्रमा चुनावी मैदानमा रहेको लोकतान्त्रिक गठबन्धनले स्थानीयलाई मतदान गर्न सिकाउँदै घरदैलो अभियान सञ्चालन गरेको छ । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र समानुपातिकतर्फका लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई मतदान गर्न सिकाउन नमूना मतपत्र लिएर चुनावी अभियानमा सक्रिय भएका छन् ।
लोकतान्त्रिक गठबन्धनबाट ३ नम्बरमा प्रतिनिधिसभा सदस्य उम्मेदवारका रुपमा राप्रपा(प्रजातान्त्रिक) का केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डे र प्रदेशसभा सदस्यतर्फ कांग्रेसका तर्फबाट क मा दिनेश कोइराला र ख मा साजनकुमार महतो छन् । समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका रुपमा कांग्रेस वा राप्रपा(प्रजातान्त्रिक) लाई मतदान गर्न सिकाइएको छ । लोकतान्त्रिक गठबन्धन चितवन क्षेत्र नम्बर ३ चुनाव प्रसार प्रसार समितिका संयोजक लालबहादुर दवाडीले बदर मत संख्या कम गराउन मतदान गर्ने विधिबारे जानकारी गराउँदै चुनावी अभियान चलाइएको बताए । स्वस्तिक छाप नलगाइएका नमुना मतपत्र स्थानीयलाई समेत वितरण गर्ने गरिएको बताए । विगत स्थानीय तह चुनावमा एउटै मतपत्रमा चुनाव चिन्ह हेरेर ७ स्थानमा मतदान गर्ने व्यवस्था थियो । यसपालि तीन फरक फरक मतपत्र छन् ।
चुनावी अभियानमा समानुपातिकतर्फका उम्मेदवार पनि घरदैलो अभियानमा प्रत्यक्षतर्फका उम्मेदवारसँगै घरदैलो अयिभायनमा सक्रिय भएका छन् । गठबन्धन अनुसार एकै क्षेत्रका मतदाताले प्रतिनिधि र प्रदेशसभा अनुसार फरक–फरक चुनाव चिन्हमा मत हाल्नुपर्ने अवस्था छ । मतदाताले तीन फरक फरक मतपत्रमा ४ ठाउँमा छाप लगाउनुपर्र्ने व्यवस्था छ । मतदाताले प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदवारलाई मतदान गरेपछि बल्ल प्रदेशसभाको प्रत्यक्षतर्फको उम्मेदवारलाई मतदान गर्न पाउनेछन् । त्यसपछि बल्ल समानुपातिकतर्फको मतपत्रको माथिल्लो खण्डमा प्रतिनिधिसभा र तल्लो खण्डमा प्रदेशसभाका लागि छाप लगाउनुपर्छ ।

.