मन्त्रीपरिषद् बैठकः यस्तो छ महत्वपूर्ण निर्णय

 

काठमाडौं, ८ मंसिर । सरकारले बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण स्वदेशी लगानीमै गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा आज बसेको मन्त्रीपरिषद् बैठकले १२ सय मेगावाट क्षमताको जलाशययुक्त आयोजना निर्माणको जिम्मा नेपाल विद्युत प्राधिकरणलाई दिने निर्णय गरेको हो । सो आयोजना ८ वर्षभित्र निर्माण सम्पन्न गर्ने सरकारले लक्ष्य लिएको छ ।

बैठकपछि ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै ऊर्जामन्त्री कमल थापाले आयोजना स्वदेशी लगानीमै निर्माण गर्ने जानकारी दिए । पत्रकार सम्मेलनमा मन्त्री थापाले बढीगण्डकी आयोजना स्वदेशी लगानी र स्वदेशी प्रविधि प्रयोग गरेर बनाइने उल्लेख गरे । यसका लागि १५ दिनभित्र एक समिति निर्माण हुने र उसले दिएको रिर्पोटका आधारमा काम थालिने मन्त्री थापाको भनाइ छ ।

गएको जेठ ९ गतेको मन्त्रिपरिषद् बैठकले आयोजना निर्माणको जिम्मा चाइनाको गेजुवा कम्पनीलाई दिने निर्णय गरेको थियो । तर कात्तिक २७ गते बसेको मन्त्रीपरिषद् बैठले सो सम्झौता रद्द गर्ने निर्णय गरेको थियो ।

.