सामाजिक सञ्जालमा विज्ञापनको होड : निर्वाचन प्रचार मार्फत बिदेसियो १४ करोड

काठमाडौँ, ८ मंसिर । मंसिर १० र २१ गरी दुई चरणमा हुन गइरहेको प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा सामाजिक सञ्जालमा ‘स्पोन्सर’को नाममा मुलुकबाट करोडौँ रुपैयाँ बाहिरिँदै छ । सामाजिक सञ्जालमा ‘पेज स्पोन्सर’ र ‘पोस्ट बुस्ट’का नाममा प्रतिउम्मेदवारले औसतमा हजार डलर खर्च गरिरहेको फेसबुक स्पोन्सर गराउँदै आएका विज्ञापन एजेन्सीले बताएका छन् ।

दुवै चुनावको प्रतिस्पर्धामा रहेका कुल उम्मेदवार संख्याको एक चौथाइलाई आधार मान्दा मात्रै पनि सामाजिक सञ्जालमा स्पोन्सरका नाममा १३ करोड ७७ लाख रुपैयाँभन्दा धेरै रकम बिदेसिएको देखिन्छ । जुनसुकै सामाजिक सञ्जाल स्पोन्सर गर्न आवश्यक रकम सम्बन्धित सामाजिक सञ्जाललाई पठाउनुपर्ने एक विज्ञापन एजेन्सी सञ्चालकले बताए । उनीहरूले सो रकमबाहेक निश्चित सेवा शुल्क लिने गरेका छन् ।

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा क्रमशः ३ हजार ४ सय ४८ र २ हजार ६२ गरी कुल ५ हजार ५ सय १० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । त्यसमध्ये एक चौथाइ अर्थात् १ हजार ३ सय ७७ जनाले पेज तथा कन्टेन्ट स्पोन्सरमा १ लाखका दरले खर्च गर्दा पनि १३ करोड ७७ लाख रुपैयाँ चुनाव खर्चकै रूपमा बाहिरिएको छ । त्यसमध्ये अधिकांश अवैधानिक रूपमा जान्छ ।

सामान्य शैलीको चुनाव प्रचारप्रसार खर्चिलो भएकोमा आलोचना भइरहँदा चुनाव प्रचारप्रसारकै नाममा फेसबुक, ट्विटर, युट्युबलगायतका सामाजिक सञ्जालमा समेत करोडौँ खर्च भइरहेको छ । सामाजिक सञ्जालमा तोकिएको शुल्क तिरेर निश्चित क्षेत्र तथा उमेर समूहका प्रयोगकर्ताकोे न्युज फिडमा आफूले चाहेको टेक्स्ट, फोटो, भिडियोलगायतको मल्टिमिडिया सामग्री देखिने बनाउने र पेजको लाइक तथा फलोअर बढाउन गरिने प्रवद्र्धनको कार्य नै सामाजिक सञ्जाल स्पोन्सर तथा बुस्ट हो । त्यसबापतको रकम नेपालबाट विदेशमा रहेका सामाजिक सञ्जाललाई भुक्तानी गर्न सकिने कानुनी व्यवस्था भने छैन । अनुकूलताअनुसार विदेशमा रहेका आफन्त, कम्पनी, हुन्डीलगायतको माध्यमबाट सो रकम फेसबुकलाई भुक्तानी गर्ने गरिएको सामाजिक सञ्जालमा विज्ञापन गरिरहेको एक एजेन्सीका सञ्चालकले भने।, आजको नयाँपत्रिका दैनिकमा खबर छ।

.