सिस्टर हुड नेपालद्वारा स्टेशनरी सामग्री प्रदान

चितवन, ७ मंसिर । सामाजिक सञ्जाल फेसबुक मार्फत सक्रिय रहेका महिलाहरुले भरतपुर १२ नवरत्न टोलमा रहेको आमाको माया छात्राबासमा सहयोग सामग्री प्रदान गरेका छन् ।
फेसबुक मार्फत सिस्टर हुड नेपाल नामक ग्रुपबाट सक्रिय रहेका महिलाहरुले छात्राबासलाई करिब १० हजार रुपैयाँ बराबरको स्टेशनरी र पानी तताउने भाँडो सहयोग गरेका हुन् । फेसबुकमा ग्रुप सञ्चालन गरेको तेस्रो वार्षिकोत्सव छात्राबासमा मनाउँदै महिलाहरुले उक्त सहयोग वितरण गरेका हुन् । सिस्टर हुड नेपालले विभिन्न सामाजिक तथा मानवीय काम गर्ने क्रममा साउन भदौमा आएको बाढीबाट प्रभावित भएका सप्तरी र रौतहटका बाढीपीडितहरुलाई राहत, रक्तदान जस्ता कामहरु गर्दै आएका छन् ।
विश्वभरी रहेका नेपाली महिलाहरुलाई संगठित गर्ने उद्देश्यले १४ नोबेम्बर सन् २०१४ का दिन स्थापना गरिएको सिस्टर हुड नेपालमा करिब २९ हजार सदस्य रहेका सजनी कायस्थले जानकारी दिइन् ।