विद्यालयमा विद्युतीय पुस्तकालय उद्घाटन

चितवन,६ मंसिर । राप्ती नगरपालिका वडा नं.७ मा रहेको निमावि शिरकोटमा स्थापना गरिएको विद्युतीय पुस्तकालयका बुधवार उद्घाटन गरिएको छ । आयरल्याण्ड युकेमा रहेका नेपालीहरु,नेपालका सहयोगीहरु,जिल्ला शिक्षा कार्यालयको आर्थिक सहयोगमा सो विद्यालयमा विद्युतीय पुस्तकालय स्थापना गरिएको हो । चन्दादाताबाट ३ लाख ४८ हजार,जिल्ला शिक्षा कार्यालयबाट २ लाख ४० हजार, र अन्य बाट ५ हजारको लगतमा पुस्तकालय स्थापना गरिएको विद्यालयका प्रधानाध्यापक उकाकान्त भट्टराईले जानकारी दिए । विद्युतीय पुस्तकालयमा १५ वटा कम्प्युटर राखिएको छ । पुस्तकालय स्थापनाको लागि पूर्वी चितवनको वीरेन्द्रजगर घर भएका नेपाल आयरल्याण्ड सोसाईटीका महासचिव गंगाराम कँडेलले व्यक्तिगत रुपमा समेत रु १० हजार सहयोग गरेका छन । कँडेलकै सक्रियतामा पुस्तकालय स्थापनाको लागि आयरल्याण्डमा आर्थिक संकलन गरिएको हो । सो अबसरमा नेपाल आयरल्याण्ड सोसाईटीले १५ जना गरिब असहाय तथा जेहेन्दार विद्यार्थीलाई बार्षिक छात्रवृत्ती समेत वितरण गरिएको चेपाङ अभियान्ता केपिकिरण शर्माले जानकारी दिए । नेपाल आयरल्याण्ड सोसाईटीका महासचिव गंगाराम कँडेल प्रमुख अतिथि रहेको सो कार्यक्रममा राप्ती नगरपालिकाकी मेयर प्रभा बराल,जिल्ला शिक्षा कार्यालयका अधिकृत हुमकान्त अधिकारी,चितवन जापान समाजका निर्वतमान अध्यक्ष सरोज कँडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम ज्ञानबहादुर तामाङको अध्यक्षतामा भएको थियो ।