बढुवामा परेका चार एआइजीले जिम्मेवारी पाए

काठमाडौं, ६ मंसिर । सरकारले बुधबार बढुवा गरेका नेपाल प्रहरीका चार एआइजीले जिम्मेवारी पाएका छन्। बढुवा भएका मधुप्रसाद पुडासैनी, माधवप्रसाद नेपाल, हेमन्तबहादुर पाल र पंकज श्रेष्ठलाई पदस्थापन गरिएको हो। उनीहरुको पदस्थापनसँगै दुई एआइजीलाई सरुवा गरेका हुन्।

पुडासैनीलाई प्रदेश नम्बर ५ र नेपाललाई प्रदेश ७ को जिम्मेवारी दिइएको छ। प्रदेश ५ मा रहेका एआइजी मिङमार लामालाई सुरक्षा परिषद् र प्रदेश ७ का विजय भट्टलाई प्रहरी महानिरीक्षकको कार्यालयमा तानिएको छ।

यस्तै, एआइजी पाललाई मानव स्रोत साधन विभाग र श्रेष्ठलाई कार्य विभागको जिम्मेवारी तोकिएको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले चार डिआइजीलाई एआइजीमा बढुवा गरेको हो। गत कात्तिक २७ गते बढुवा सिफारिस समितिको बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको थियो।