निर्वाचन आयोगको धज्जी उडाउँदै एकै दिन एकै जिल्लामा तीन प्रजिअ हेरफेर

काठमाडौँ,६ मंसिर । निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै गृह मन्त्रलायले सर्लाहीमा एकै दिन तीनजनासम्म प्रमुख जिल्ला अधिकारी फेर्‍यो । मन्त्रालयले १५ कात्तिक बिहान उपसचिव कृष्णचन्द्र पौडेललाई निमित्त प्रजिअको जिम्मेवारी दिएको थियो । त्यसै दिन दिउँसो रौतहटका प्रजिअ उद्धवबहादुर थापालाई सर्लाहीको प्रजिअका रूपमा सरुवा गरियो । र, बेलुकीपख थापालाई रौतहटकै प्रजिअ कायम राखी उपसचिव कृष्णबहादुर कटुवाललाई कामु प्रजिअको जिम्मेवारी तोकियो ।

यस्तै सरकारले कात्तिक १५ गते डोटीका प्रजिअमा सूर्यबहादुर खत्रीलाई सरुवा गरेको थियो । र, डोटीका प्रजिअ कुमार खड्कालाई कञ्चनपुरको प्रजिअको जिम्मेवारी दिएको थियो ।

गृह मन्त्रालय स्रोतका अनुसार उम्मेदवारका दबाबका कारण धमाधम प्रजिअको सरुवा भइरहेको छ । नुवाकोटमा कांग्रेस उम्मेदवार डा। रामशरण महत, भोजपुरमा कांग्रेस उम्मेदवार उमेशजंग रायमाझी र सोलुखुम्बुमा कांग्रेस उम्मेदवार बलबहादुर केसीको दबाबमा प्रजिअ परिवर्तन गरिएको गृह मन्त्रालय स्रोतको दाबी छ ।

प्रजिअको सरुवालगायत सबै निर्णय वेबसाइटबाट सार्वजनिक गर्दै आएको गृह मन्त्रालयले आचारसंहिता जारी भएपछि भएका प्रजिअको सरुवाको निर्णय भने गोप्य राखेको छ । पछिल्ला सरुवाको जानकारी वेबसाइटमा उपलब्ध छैन । आजको नयाँपत्रिका दैनिकमा खबर छ ।

Promise Education Consultancy